‘सामाजिक सञ्जाल सम्बन्धमा गलत प्रचार गरियो’ : मन्त्री बाँस्कोटा

gokul baskota
लाेकपाटी न्यूज

काठमाडौं, १८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सञ्जालका बारेमा गलत प्रचार गरिएको बताएका छन्। उनले गलत प्रचारको पछि नलाग्न आग्रह गर्दै सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नभई व्यवस्थित गर्ने उद्देश्यले सूचना प्रविधिसम्बन्धी ऐन ल्याउने तयारी गरिएको प्रष्ट पारेका छन्।

सङ्घीय संसद, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, इमो, भाइबर, स्काइप, ह्वाट्सएपलगायत) लाई करको दायरामा ल्याउने उद्देश्यले ऐन ल्याउन लागिएको बताए।

“सूचना प्रविधिको प्रयोग गरेर हुने नकारात्मक गतिविधि रोक्नका लागि पनि यो ऐन ल्याउन लागिएको हो । तर, सरकारले सामाजिक सञ्जाल बन्द गर्न खोज्यो भनेर गलत प्रचारप्रसार गरिएको छ, म त्यसो नगर्न आग्रह गर्दछु”, मन्त्री बाँस्कोटाले भने।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सूचना, सञ्चार तथा प्रविधि मुलुकको अर्थतन्त्रको खम्बा भएकाले सरकारले डिजिटल नेपाल निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको बताए।

साइबर अपराधमा सबैभन्दा बढी महिला पीडित हुनुपरेको बताउँदै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालबाट हुने सबै प्रकृतिका अपराध नियन्त्रण गर्नका लागि पनि कानून जरुरी रहेको बताए।

समितिका सदस्य राजेन्द्र लिङ्देन, गौरीशङ्कर चौधरी, कमला रोकालगायतले समितिले विधेयकमाथि गहन छलफल गरेर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिए।

समितिले विधेयकमाथि सम्बन्धित विज्ञसँग छलफल गर्न उपसमितिसमेत गठन गरेको छ। उपसमितिमा लिङ्देन, चौधरी, इन्दु शर्मा, बहादुरसिंह लामा, अनिलकुमार झा, केदार सिग्देल र विना श्रेष्ठ रहेका छन्। उपसमितिले विधेयकमाथि केन्द्रित हुँदै सूचना, सञ्चार र प्रविधिका विज्ञसँग छलफल गरी समितिसमक्ष सुझाव पेश गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्