काठमाडौं, १८ चैत । छोटो समयमा धेरै पैसा कमाउने मोहले पढेलेखेका र आफैं पैसा खर्च गरेर विदेश गएका कैयौं युवा युवती कष्टकर जीवन भोगिरहेका छन् ।
अनपढ हुँदाहुँदै र लहैलहैमा लागेर वैदेशिक रोजगारीमा गई दुःख पाएको कथा त हामी सुन्दै आएका छौं तर अहिले पढेका तथा बुझेका व्यक्ति आफैं पैसा खर्च गरेर विदेशमा गई अलपत्र पर्ने गरेको तथ्य बाहिर आएको छ । कामका सिलसिलाका पहिला कुवेत, कतारलगायत तेस्रो मुलुकका देशमा नेपाली युवकयुवती बेचबिखनमा पर्ने गरेका थिए तर अहिले बेचबिखनको गन्तव्य परिवर्तन भएको छ । अहिले पोल्याण्ड, पोर्चुगल, ग्रीस, दक्षिण अफ्रिकालगायत देशमा बेचबिखनमा पर्ने गरेको पाइएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले पछिल्लो समयमा पढेलेखेका र पैसा भएका मानिस नै पढ्ने वा धेरै पैसा कमाउने चाहनामा बेचबिखनमा पर्ने गरेको सुनाए । उनले भने, ‘पहिले पैसा कमाउने आशामा बेचबिखनमा पर्थे तर अहिले पैसा भएकै र पढेलेखकै मानिस ‘कन्सल्टेन्सी’मार्फत बेचबिखनमा परिरेहका छन् ।’ सरकारले यस विषयलाई गम्भीरतापूर्वक हेर्न र आवश्यक कदम चाल्न जरुरी रहेको उनको भनाइ छ ।
अन्सारीका अनुसार आयोगले सिमानामा पनि निरीक्षण गरिरहेको छ र पीडितसँग पहुँच बढाउन सफल भएको छ । अन्सारीले भने, ‘कानून कार्यान्वयन गर्ने निकायले जिम्मेवार भएर सोचिरहेका छैनन्, भ्रमण भिसा र विद्यार्थी भिसामा गएका मानिस बेचबिखनमा परेका छन् ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आर्थिक वर्ष २०७३÷६४ को तथ्याङ्कानुसार देशभर ३ सय ११ जना मानव बेचबिखन तथा ओसारपसारमा परेका छन् । तीमध्ये ६२ आन्तरिक, १ सय ९८ सीमापार, १५ तेस्रो मुलुकमा र ३६ को स्थिति खुलेको छैन । तीमध्ये ३ सय ८ महिला र तीन पुरुष छन् । उक्त आँकडामा वेश्यावृत्ति ६७, श्रमशोषण १ सय २५, जबर्जस्ती विवाह २१, आर्थिक प्रलोभन १९, बेचबिखन ३६ र नखुलेका ४३ छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण–२०७४’ मा मानव बेचबिखन तथा ओसारपसारको आयाम र स्वरुप परिवर्तन भएको छ । बाल श्रम, बाल दासत्व र धर्मपुत्र धर्मपुत्रीका रूपमा शोषण, व्यावसायिक यौनशोषण आदि विभिन्न उद्देश्यले मानव बेचबिखन हुने गरेको देखाएको छ ।
नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा २९ मा शोषणविरुद्धको हक उल्लेख छ जसमा मानव बेचबिखनलाई निषेध गरिएको छ । उक्त धारामा कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन नपाइने उल्लेख छ । त्यसैगरी धारा २८ मा महिला हक र धारा ३९ मा बालबालिकाको हकको व्यवस्थामा महिला तथा बालबालिकाको बेचबिखन तथा ओसारपसारलाई निषेध गरिएको छ ।
मुलकी ऐन, भाग ४ मा जीउ मास्ने बेच्नेको महल ११ ले मानिस बिक्री गर्ने कार्यलाई रोकी सजाय तथा दण्ड जरिवाना तोकेको छ । सोह्र वर्ष नपुगेका नाबालकलाई वा कुनै उमेरको भए पनि मगज बिग्रेका मानिसलाई कानूनी संरक्षणको मञ्जुरीविना उसको संरक्षकत्वबाट छुटाउन नहुने वा छुटाउनका निम्ति फकाउन नहुने तथा कसैले कसैलाई कमाराकमारी बनाउन, दास तुल्याउन वा बाँधा बनाउन नहुनेजस्ता विविध कानूनी व्यवस्थाको प्रावधानबाट मुलुकी ऐनले मानव बेचबिखनलाई नियन्त्रण गर्ने व्यवस्था गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले मानव बेचबिखनसम्बन्धी मुद्दालाई सरकारवादी मुद्दा बनाएको छ । मानव बेच्ने र किन्ने दुवैलाई उत्तिकै दोषी मानी दण्ड सजाय हुने प्रावधान छ ।



लाेकपाटी न्यूज

