काठमाडौं, १८ चैत । धुर्मुस–सुन्तली फाउण्डेसनको टोली राहतका सामग्री लिएर बारा जाँदैछ। हिजो साँझ तराईका जिल्लामा आएको हावाहुरीमा प्रभावित भएकाहरुका लागि खाद्यान्न, लत्ताकपडा तथा औषधी उपचारको आवश्यक सामग्री आवश्यकता भएकोले अहिले उक्त क्षेत्रमा एक पछि अर्को गर्दै राहत तथा उद्दारको काम भैरहेको जनाइएको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले प्रभावित क्षेत्रका लागि खाद्यान्न, लत्ताकपडा तथा राहत सामाग्री उपलब्ध गराउन आह्वान गरेको छ । हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुसले तत्कालका लागि आवश्यक सामाग्रीहरु लाँदै गरेको जानकारी दिए ।
उनले ४०० घरपरिवारका लागि राहत सामाग्री बोकेर फाउण्डेसनको टोली प्रभावित क्षेत्र गएको बताए । उनले भने, ‘हामीलाई यकिन तथ्याङ्क प्राप्त भइनसकेको हुनाले अहिलेका लागि ४०० घरपरिवारका लागि आवश्यक सामाग्रीहरु लगेका हौं।’ उनले खाद्यान्न, लत्ताकपडा तथा त्रिपाल आफूहरुले लगेको जानकारी दिए ।
उनले तत्कालका लागि यति ल्याइए पनि आफूहरुले प्रभावित स्थल पुगिसकेपछि थप कदमहरु चाल्ने र सहयोगी हातहरु फैलाउने बताए । उनले यस्तो प्राकृतिक विपत्को घडीमा नेपालीहरु एकजुट हुनुपर्ने बताउँदै उद्धार तथा राहत वितरणका लागि सबैमा आह्वान समेत गरे ।
यो विपदलाई वि.सं २०७२ मा आएको भूकम्पलाई सम्झाउने गरी पर्न आएको विपद भन्दै उनले सबैले आ–आफ्नो तर्फबाट सकेको सहयोग गर्न समेत आह्वान गरेका छन् ।



लाेकपाटी न्यूज

