जनकपुरधाम, १८ चैत। प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले बारा र पर्साका अस्पतालहरुमा चिकित्सकको अभाव खड्किएको बताएका छन्। मन्त्री सोनलले भने, ‘अस्पतालमा घाइतेहरु छटपटाइरहेका छन्।
यहाँ डाक्टरहरुको ठूलो अभाव खड्किएको छ।’ उनले काठमाडौंबाट चिकित्सक टोलीलाई आउन आग्रह गरे। आइतबार राति आएको आँधीहुरीका कारण बारा र पर्सामा ३१ जनाको मृत्यु हुनुका साथै ४ सयभन्दा बढी घाइते भएका छन। मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।
सैयौंको संख्यामा घाइतेहरुलाई कलैया र वीरगञ्जका अस्पतालहरुमा लगिएको छ। घाइतेको अवस्थाबारे जानकारी दिँदै मन्त्री सोनलले भने, ‘मृत्यु हुनेहरुको त भइहाल्यो, तर, अस्पतालहरुमा छटपटाइरहेका घाइतेको अवस्था दर्दनाक छ, गाउँमा अझै कतिपय घाइतेहरुको उद्धार हुन बाँकी छ ।
औषधि र चिकित्सकको ठूलो अभाव खड्किएको छ ।’तत्कालै गर्नुपर्ने काम चिकित्सकको अभाव पूर्ति गर्नु रहेको बताउँदै मन्त्री सोनलले आँधीको चपेटामा परेर घरबार गुमाएकाहरुको खानपिन र बासका लागि सहयोगका हातहरु जरुरी रहेको बताए।
मन्त्री सोनलले भने, ‘आँधीका कारण मानिसहरुको बास छैन, प्रदेश सरकारले गर्ने निर्णय त गरियो, तर अन्यत्रबाट पनि सहयोगको हात बढाउन जरुरी छ।’



लाेकपाटी न्यूज

