काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली बारा र पर्सा जाने भएका छन् । हावाहुरीबाट ठूलो जनधनको क्षति भएकोले उनी गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरी बारा र पर्सा जान लागेका हुन् ।
प्रधानमन्त्री ओली झापाको चन्द्रगढीबाट बिहान १०ः३० बजे सेनाको हेलिकोप्टरमार्फत् सीधै बारा जादैँछन्। ‘अहिले बिहान ११ बजे चन्द्रगढीबाट बाराको सिमरा प्रस्थान गर्ने कार्यक्रम छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने । झापा र मोरङका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आइतबार काठमाडौंबाट त्यहाँ गएका थिए । प्रेस संयोजक अधिकारीका अनुसार सोमबार प्रधानमन्त्री ओली झापाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो ।
तर, आइतबार साँझ भीषण हावाहुरीका कारण बारा र पर्सामा ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर प्रभावित क्षेत्र आउने भएका हुन्। असीना पानीसँगै आएको भीषण हावाहुरीका कारण बारा र पर्सामा गरी २७ जनाको मृत्यु भएको छ । बारामा मात्रै २६ जनाको ज्यान गएको छ । घटनामा ७ सयभन्दा बढी घाइते भएका छन्।



लाेकपाटी न्यूज

