पूर्व मुख्यसचिव गौतमसहित १५० जनालाई सम्मान

IMG_6048
लाेकपाटी न्यूज

चन्द्रागिरी, १७ चैत्र । ललितपुर महानगरपालिका ०५ नम्बर वडाले वडावासी जेष्ठ नागरिकहरुको अवलोकन भ्रमण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वडाले आइतबार जेष्ठ नागरिकहरुलाई चन्द्रागिरी अवलोकन भ्रमण गराउनुका साथै सम्मान कार्यक्रमको समेत आयोजना गरेको थियो।

चन्द्रागिरीको अवलोकनसँगै सम्मानित हुन पाउँदा वडावासी जेष्ठ नागरिकहरु निकै खुशी देखिन्थे । वडाले नेपाल सरकारका पूर्व मुख्य सचिव दामोदर गौतमसहित करिब १५० जना जेष्ठ नागरिकहरुलाई कोशेलीसहित सम्मान गरेको थियो । उनीहरुलाई वडा अध्यक्ष विकासमान श्रेष्ठले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

तत्पश्चात जेष्ठ नागरिकहरुको सम्मान कार्यक्रम माझ बोल्ने क्रममा वडा अध्यक्ष श्रेष्ठले जेष्ठ नागरिकहरु भनेका अनुभवले खारिएका र मायाको पुन्जले ओतप्रोत अग्रज व्यक्तित्व हुन भन्दै यस्ता अभिवावकहरुको सम्मान गर्न पाउनु गर्वको बिषय रहेको बताए ।

कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव दामोदर गौतमले आफ्नै वडाबाट सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताउँदै वडास्तरमा स्वयम् सेवकको रुपमा कार्य गर्ने धोको व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु अशोक श्रेष्ठ, शोभादेबी प्रधान श्रेष्ठ, मैया रिजाल र पुनम निरौलाले एकदिनको सम्मानले मात्र ज्येस्ठ नागरिकहरुलाई खुशी दिन नसकिने भन्दै ज्येस्ठ नागरिकहरुको पिरमर्का र समस्याको निदानका लागि आउँदा दिनमा वडा स्तरबाट सक्दो पहल गर्ने आशय व्यक्त गरे ।

कार्यक्रममा सम्मानित जेष्ठ नागरिकहरुले अवलोकन भ्रमण तथा सम्मान कार्यक्रमबाट साथीसंगीसँग भेटघाट गर्ने अवसर मिल्नुका साथै एकै साथ घुम्न पाउँदा निकै आनन्दको अनुभुती भएको र जीवनको उत्तरार्धमा पाएको सम्मानले उर्जा प्राप्त भएके बताएका थिए । सम्मानित जेष्ठ नागरिकहरुको तर्फबाट नेपाल सरकारका पूर्व मुख्य सचिव दामोदर गौतमसहित अच्युत प्रसाद ढुङ्गाना, राममणि गजुरेल, रामेश्वर थापा, मिना राउत र ईन्द्र बहादुर कुँवरले मन्तब्य धारणा राखेका थिए भने गौरी केसी र श्याम बस्नेतले भजन एबम हास्य प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्