देश र जनताको हितबाहेक मेरो अरु कुनै स्वार्थ छैन : प्रचण्ड

Prachanda_1
लाेकपाटी न्यूज

काठमाडौं, १७ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  देश र जनताको हितबाहेक आफ्नो अरु कुनै स्वार्थ नभएकाे बताउँदै सबै राजनीतिक शक्तिहरुलाई नयाँ संकल्पका लागि एकजुट हुन आग्रह गरेका छन् । दाहालले अझै पनि राष्ट्रका प्रमूख समस्याहरु समाधानका लागि एकता आवश्यक रहेको बताएका हुन् ।

रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आइतबार आयोजित विशेष समारोहमा बोल्दै प्रचण्डले अप्ठ्यारो परिस्थितिमा पनि निर्वाचन सकेर संविधान कार्यान्वयन प्रक्रियामा देशलाई लैजानुमा सबै राजनीतिक शक्तिहरुबीच सहकार्य भएको बताए । कोही एक दल वा व्यक्तिको पहलमा अहिलेको अवस्था नआएको उनले स्पष्ट पारे ।

“सत्तापक्ष र प्रतिपक्ष छ । आलोचना र विवाद हुनुपर्छ । तर, राष्ट्रहितमा सबैबीच समझदारी आवश्यक छ ।” उनले भने । संविधान संशोधनको मागप्रति लक्षित गर्दै प्रचण्डले सबै असन्तुष्टीलाई सम्बोधन गरेर संविधानलाई गतिशिल दस्तावेजको रुपमा स्थापित गर्नुपर्ने बताए । उनले समझदारीका आधारमा संविधान संशोधन गर्न सकिने संकेत पनि गरे ।

देशका लागि अहिलेको आवश्यकता विकास भएको भन्दै उनले २१ औं शताब्दीको परिस्थितिमा राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग लिएर विकास गर्नुपर्ने बताए । नेपाललाई गरिब देशको रुपमा नभई विकसित देशको रुपमा स्थापित गर्नका लागि सबै राजनीतिक शक्तिहरुबीच एकताको संकल्प गर्नुपर्ने बेला आएको उनले बताए । उनले हिजो सकिएको लगानी सम्मेलनले विकास र समृद्धिमा धेरै महत्वपूर्ण भूमिका खेल्ने बताए । मञ्चमा रहेका नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलाई सम्बोधन गर्दै दाहालले छिमेकी देशहरुको सहयोग पनि आवश्यक रहेको बताए ।

पछिल्लो समय नेपालको ऐतिहासिक उपलब्धिमाथि आक्रमण र षड्यन्त्र भइहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । “कतिपय मानिसहरुले मिडियामा ऐतिहासिक उपलब्धिलाई बडो तितो र नमिठोसँग आक्रमण गरेको देख्छु । त्यतिबेला चिन्ता लाग्छ । किन यसो गरिदैछ ? शान्ति सम्झौता प्रचण्ड एक्लैले गरेको त होइन । गिरिजाप्रसाद कोइरालासहित ७ राजनीतिक दलले पनि गरेका हुन्”, उनले भने ।

आफू अमेरिका गएका बेला अपराधीको रुपमा चित्रित गरेर उजुरी गरेकोप्रति उनले असन्तुष्टी पोखे । “एउटा नेपालीले नै मलाई हत्यारको रुपमा दुनियाको अगाडि, नेपालभित्रै बसेर अलिअलि गर्न मिल्छ । नेपाली–नेपालीबीच आलोचना हुन सक्छ । तर विदेशमा बसेर नेपालको शान्ति सम्झौतालाई अपराधिक सम्झौताको रुपमा, हस्ताक्षरकर्तालाई अपराधीको रुपमा प्रस्तुत गरेर अन्तराष्ट्रिय जगतले पक्राउ गरेर जेल हाल्नुपर्यो भन्नु कति तर्क संगत छ ?” दाहालले भने ।

अमेरिका जाँदाको तितो अनुभव बताउँदै उनले त्यसो भनेका हुन् । आफू वासिङ्टन डिसीमा बस्दा नेपाली कांग्रेस आवद्ध एउटा कमिटिले निर्णय गरेर प्रचण्डलाई अपराधीको रुपमा प्रस्तुत गरिएको भन्दै दाहालले मञ्चमा रहेका कांग्रेस नेता डा. रामशरण महतको ध्यानाकर्षणसमेत गराए । आफू डराएर यो अनुभव सुनाएको नभै श्रीमतीको उपचारमा जाँदासमेत त्यस्तो गरिएकोमा दुःख लागेका बताए ।

उनले भने, “मलाई अपराधी भन्ने हो भने नेपाली कांग्रेस पनि अपराधी नै होला । शान्ति सम्झौतामा त कांग्रेसले पनि हस्ताक्षर गरेको हो ।” प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला एफबीआईमा उजुरी परेको थियो । तिलक श्रेष्ठ नाम गरेका व्यक्तिले प्रचण्ड आतङ्ककारी भएको भन्दै अमेरिका आएको बेलामा पक्राउ गर्न माग गरिएको थियो ।

फरक प्रसङ्गमा उनले राजतन्त्रको अन्त्यपछि पनि यो प्रक्रियालाई उल्ट्याउने कुरा निरङ्कुशतावादी शक्तिको दिमागमा रहिरहनु सामान्य भएको बताए। तर इतिहासको एउटा मञ्चमा मिल्काइएको कुनै पनि शक्तिलाई अब कसैले पनि आत्मसात नगर्ने उनले बताए ।

उनले भने, “संघीय लोकतात्रिक गणतन्त्र उल्ट्याएर फेरी पुरानै निरङ्कुशतन्त्र अब नेपालमा असम्भव छ । तर, यो परिवर्तनलाई कमजोर पार्न चाँहि खोजिरहेका छन् ।” बालीमा लाग्ने झारपातलाई बेलाबेलामा उखेलेर फाल्नुपर्ने उनको तर्क थियो । त्यस्ता झारपात उखेल्न पत्रकारिता क्षेत्रले पनि भूमिका खेल्नुपर्ने उनले बताए ।

क्बलको २१ वर्षमा प्रवेश गरेको अवसरमा दाहालले क्लब र यसका संस्थापक ऋषि धमलालाई बधाई तथा शुभकामना व्यक्त गरे । “एउटा मान्छेले आफ्नो पेशाको लगन सक्रियता र मिहिनेतले कतिसम्म सफल हुन्छ भन्ने उदाहरण ऋषि धमला र रिपोर्टर्स क्लब हो”, उनले भने। दाहालले धमला र क्लबबाट मिहिनेत र लगनशिलताको नक्कल गर्नुपर्नेसमेत बताए।

देश र जनताका लागि धमलाको भूमिका महत्वपूर्ण भएको उनले बताए। २०६३ साल असार २ गते राति धमलासँग अन्तरवार्ता दिएको स्मरण गर्दै दाहालले त्यसबेला राम्रोसँग चिन्न नसकेको धमलालाई अहिले चिनिसकेको बताए ।

उनले भने, “राति १ बजे बिना स्वीकृति अन्तरवार्ताका लागि आउनुभयो । भोलि अन्तवार्ता दिन्छु भन्दा पनि मान्नु भएन। राति नै खुला राजनीतिमा आएपछि उहाँसग दिएको अन्तरवार्ता पहिलो हो। शुरुमा त कस्तो जिद्धी रहेछ भनेर रिस पनि उठ्यो ।” उनले थपे, “केही समयअघि मैले भनेको थिएँ माया वैगुनी नभै नहुने । तर, अहिले फेरिएको छ । त्यो गित योग्य छैन । सबैको प्यारो नभै नहुने ऋषि धमला बनिसक्नुभएको छ ।” धमलाले बनाएको प्लेटफर्म सबैलाई चाहिने अवस्था आएको भन्दै दाहालले धमलाको हमला सहनै पर्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्