काठमाडौं, १७ चैत । पोखरा विश्वविद्यालय अन्तर्गतका ४२ वटा कलेजमा अध्ययनरत ३९१ जना विद्यार्थीहरुको भविष्य बर्बाद हुनेगरि विश्वविद्यालय प्रशासन र कलेजहरुले खेलेको गैरजिम्मेवार भूमिकाप्रति संयुक्त अखिलले कलेज तथा प्रशासनलाई गम्भीर ध्यानाकर्षण गराएको छ।
संयुक्त अखिलले आज एक विज्ञप्ति जारी गर्दै जे जति विसंगतिपूर्ण काम भए ती सबै कतै विश्वविद्यालय र कलेज प्रशासनको मिलेमहतोमा त भएको हैन भन्ने प्रश्न गरेको छ। घटनाको सत्य–तथ्य यथाशीघ्र पत्ता लगाउन, मर्कामा पारिएका विद्यार्थीलाई उचित न्याय दिन र उच्चस्तरीय छानविन समिति बनाई दोषी उपर कडा कारबाही गर्न नेपाल सरकार, शिक्षा मन्त्रालय , शिक्षा मन्त्री र अन्य सम्बद्ध निकायहरुसमक्ष संयुक्त अखिलले जोडदार माग गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
संयुक्त अखिलद्वारा जारी विज्ञप्ति यस्तो छ
प्रेस विज्ञप्ति
पोखरा विश्वविद्यालय अन्तर्गतका ४२ वटा कलेजमा अध्ययनरत ३९१ जना विद्यार्थीहरुको भविष्य बर्बाद हुनेगरि विश्वविद्यालय प्रशासन र कलेजहरुले खेलेको गैरजिम्मेवार भूमिका प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । घटनाक्रम हेर्दा विश्वविद्यालयले भर्नाको समयमा एकथरि सूचना जारी गरेको, कलेजहरुले भर्ना गर्दा त्यसभन्दा अर्को ढंगले भर्ना गरेको र त्यस सवालमा विश्वविद्यालय प्रशासन कहीं न कहीं जोडिएको देखिन्छ ।
यसवाट यी सवै काम कतै विश्वविद्यालय र कलेज प्रशासनको मिलेमतोमा त भएको हैन भन्ने प्रश्नसमेत उब्जिएको छ । जिम्मेवार निकायका यस्ता गतिविधिहरुले शिक्षा क्षेत्रमा विकृति, विसङ्गति र बेथिति मौलाएको स्पष्ट देखिन्छ। यसर्थ, यस घटनाको सत्य–तथ्य यथाशीघ्र पत्ता लगाउन, मर्कामा पारिएका विद्यार्थीलाई उचित न्याय दिन र उच्चस्तरीय छानविन समिति बनाई दोषी उपर कडा कारबाही गर्न नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा मन्त्री र अन्य सम्बद्ध निकायहरुसमक्ष जोडदार माग गर्दछौं।
नविना लामा रञ्जित तामाङ
अध्यक्ष अध्यक्ष



लाेकपाटी न्यूज

