चितवन, १७ चैत। प्राकृतिक कारणले दुर्लभ एक सिङ्गे गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान र पोखरीको व्यवस्थापनमा जोड दिएको छ।दुई वर्षअघि आएको बाढीका कारण घाँसे मैदान र पोखरी पुरिएको थियो। बाढीले पूर्वी क्षेत्रका गैँडालाई बगाएर पश्चिम क्षेत्रमा पु¥याएको थियो। कतिपय गैँडा बगेर भारत समेत पुगेका थिए।
चालू आर्थिक वर्षको हालसम्म प्राकृतिक कारणले निकुञ्जमा मात्रै ३९ वटा गैँडा मरिसकेका छन। चितवन राष्ट्रिय वन क्षेत्रअन्तर्गत दुई वटा थप गैँडा मरेका छन्। बाढीका कारण घाँसे मैदान र पोखरी पुरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए। यससँगै पश्चिम क्षेत्रमा बढी गैँडा भएकाले सो क्षेत्रमा थप घाँसे मैदान व्यवस्थापन र पोखरी निर्माण एवं सरसफाइको काम थालिएको उनले बताए। ढकालका अनुसार नियमित, अतिरिक्त २०० हेक्टर घाँसे मैदान थप व्यवस्थापन गरिँदैछ। निकुञ्जको पश्चिमी क्षेत्रमा रहेको टेम्पल टाइगर र खोरिया मुहानमा एक÷एक सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्ने काम शुरु भएको छ।
निकुञ्जले नियमित रुपमा हरेक वर्ष ८० हेक्टर हाराहारी क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्ने गर्दछ। करीब रु २५ लाख खर्च गरेर यस वर्ष थप २०० हेक्टर घाँसे मैदान व्यवस्थापन गर्न लागेको प्रमुख संरक्षण अधिकृत ढकालले बताए। निकुञ्जमा दश हजार हेक्टर घाँसे मैदान भए पनि बजेटको अभावमा थोरै क्षेत्रमात्र व्यवस्थापन गरिँदै आएको छ। ठूला खर खडाइ र घाँस काट्ने, झाँडीहरु सफा गरेर घाँसे मैदान व्यवस्थापन गरिन्छ। यसैगरी ६० वटा पोखरी व्यवस्थापनको काम भइरहेको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए। रु एक करोड २० लाख खर्च गरेर पुराना पोखरीभित्रका फोहरहरु निकाल्ने, फराकिलो बनाउने र मर्मत सम्भार गर्ने काम भइरहेको उनले जानकारी दिए।



लाेकपाटी न्यूज

