‘लगानी सम्मेलन उपलब्धिपूर्ण रह्याे’ : प्रधानमन्त्री

KP-Oli-1
लाेकपाटी न्यूज

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलन सोचेभन्दा बढी उत्साह र उपलब्धिपूर्ण भएकोे बताएका छन्। सामाजिक न्यायसहितको नयाँ नेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको बताउँदै उनले मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजानको लागि उक्त लगानी सम्मेलन एउटा महत्वपूर्ण आधार भएको बताए।

रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आर्थिक समृद्धिमार्फत गरीबी, र पछौटेपनको अन्त्य तथा पूर्वाधार विकासमा जोड दिइएको बताए। प्रधानमन्त्री ओलीले भने, ‘देशको पूर्वाधार विकास गर्न शनिबार सम्पन्न लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो । लगानी सम्मेलन उत्साहजनक ढगले सम्पन्न गर्‍याैं। सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश दिएका छाैं ।’ समृद्ध नेपाल आफैँ बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरिएको प्रधानमन्त्रीले स्पष्ट पारे।

कर्मचारी समायोजन सहज नभए पनि त्यससम्बन्धी काम सकिएको तथा कानून बनाइएको बताउँदै उनले संविधान कार्यान्वयन गर्ने कानून र संरचना निर्माणमा सफलता प्राप्त भएको जानकारी दिए। प्रधानमन्त्री ओलीले आगामी दिनमा संविधानले सङ्घ, प्रदेश र स्थानीय तहलाई तोकेका क्षेत्र र अधिकारका बाँडफाट समन्वयात्मक रुपमा मिलेर अगाडि बढ्ने बताए।

प्रधानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक–पटक भए पनि त्यस्ता प्रयास असफल बनाइएको उल्लेख गर्दै भने, ‘हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने र अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचहरुलाई अन्त्य गरेका छौं ।’ प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र जसरी पनि समर्थन गर्नुपर्ने अवस्थामा नरहेको बताउँदै सबैलाई सकारात्मक सोच राख्न आग्रह गरे। उनले भने, ‘सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी विकसित दुनियाँका सन्तानभन्दा पनि सभ्य र सुसंस्कृत समाजका हौं भन्ने भुल्नुहुँदैन । हामीले आफ्नो समाज, इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई पनि भुल्नुहुँदैन।’

सो अवसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि र विकासका लागि आगामी दिनमा थप सहमति, सहकार्य र एकताको खाँचो औँल्याए। उनले भने, ‘मलाई कुनै व्यक्तिगत लाभ र मोह छैन, अब मेरो चाहना देशको आर्थिक समृद्धि र विकास हो ।’ उहाँले राष्ट्रिय एकता, स्थायित्व र विकासलाई कमजोर पार्ने र बदनाम गर्नेलाई बालीमा गोडमेल गरेझैँ गोडमेल नगर्न सञ्चार जगतलाई आग्रह गरे।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र स्थापना गर्न सञ्चार जगतले अहं भूमिका निर्वाह गरेको उल्लेख गरे। नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले आर्थिम समृद्धि भाषणले होइन, लगानीले आउने चर्चा गर्दै शनिबार लगानी सम्मेलनका समापनका अवसरमा हस्ताक्षर गरिएका योजना विगतमै आएको जिकिर गरे। उनले विगतका राजनीतिक अप्ठ्यारो परिस्थितिमा पनि पूर्वाधार विकासका क्षेत्रमा नेपालले सफलता हासिल गरेको उल्लेख गर्दै पूर्वाधार विकासमा पक्ष–विपक्षमा बाँडिन नहुने बताए।

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले लोकतान्त्रिक मूल्यमान्यतानुसार प्रेस क्षेत्रलाई निर्बाध चल्न दिनुपर्नेमा जोड दिए। त्यस्तै गैरआवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष उपेन्द्र महतोले राजनीतिक स्थिरतापछि आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए। नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले स्वतन्त्र प्रेसले प्रजातन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्