‘प्रेसमाथि नियन्त्रण होइन, नियमन गर्छौं’ : मन्त्री बाँस्कोटा

Gokul Baskota
लाेकपाटी न्यूज

काठमाडौं, १७ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसमाथि नियन्त्रण नगरेर नियमन गर्ने बताएका छन्। उनले केही सञ्चारमाध्यम सरकार र सत्तारुढ पार्टीविरुद्ध भ्रम फैलाउन काममा लागिरहेको बताउँदै त्यस्ता सञ्चारमाध्यमलाई नियमन गर्नुपर्ने बताए। उनले हुँदै नभएका कुरा बहसमा ल्याएर आफ्नै गरिमा घटाउन सञ्चारमाध्यम लागि परेको बताए।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रण नभई नियमनका लागि कानूनी प्रबन्ध गरिने बताएका हुन्। ‘लोकतान्त्रिक आन्दोलनको सङ्घर्ष र अभ्यासकै जगबाट वर्तमान सरकार बनेको हो । यसले प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न सकिँदैन । सरकारका नीतिहरु पढेर मात्रै आलोचना गर्न म आग्रह गर्दछु । हामी नियन्त्रण होइन, नियमन गर्न चाहन्छौँ’, उनले भने।

मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगर्न आग्रह समेत गरे। सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे। उनले भने, ‘प्रेस स्वतन्त्रताको बारेमा स्पष्ट भए हुन्छ। स्वतन्त्रता अपहरित हुँदैन। ज्ञानेन्द्रसँग तुलना नगर्नु होला।’

उनले स्वतन्त्रताको नाममा पछिल्लो समय मिडिया आतङ्क देखिने गरेको टिप्पणी गरे। ‘प्रतिष्ठित पत्रकारहरु, वास्तविक पत्रकारहरु अहिले लज्जित हुँदैछन्। रुलिङ पार्टीको अध्यक्ष पुष्पकमल दाहालको अमेरिका भिजिटमा के–केसम्म समाचार छाप्नुभयो ? आफ्नो समाचार हेरेर उनलाई यहाँ देख्दा आफँैलाई लाज लाग्दैन अहिले के लेखियो भनेर ? आफ्नो धोती फुस्केको थाहा छैन। सरकारमाथि ख्याउ ख्याउ अचम्म लाग्छ’उनले थपे।

सञ्चारमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन आट्यो भनेर अफवाह फैलाएकोप्रति पनि आक्रोश पोखेका छन्। उनले भने, ‘कसले फेसबुकमा प्रतिबन्ध लगाउने भनेको छ, कसले ट्विटरमा लगाउने भनेको छ, पैसा चाहिँ तिर्नुपर्छ कि पर्दैन यहाँबाट पैसा लगेपछि, ट्याक्स चाही तिर्नुपर्छ कि पर्दैन, हामीले समृद्ध राष्ट्र बनाउने भनेका छौं ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्