दिन नौ पटक चुम्बन : दर्जनौं रोगको उपचार (अनुसन्धान)

kissing
लाेकपाटी न्यूज

बीबीसी। दस सेकेण्डको एक चुम्बनको क्रममा करिब आठ करोड जीवाणु चुम्बन गर्नेको मुखमा प्रवेश गर्ने गरेको निष्कर्ष नेदरल्यान्ड्सका वैज्ञानिकको एक दलले निकालेको छ। वैज्ञानिकहरूले १७ देखि ४५ वर्ष उमेर समूहको २१ जोडीको चुम्बन प्रक्रियाको अध्ययन गरेका थिए।

दिनभरिमा नौ पटक चुम्बन गर्नेमा र्‍यालमार्फत् जीवाणु स्थानान्तरित गर्ने सम्भावना बढी हुन्छ। मानवको मुखमा ७ सय प्रकारको जीवाणु करोडौंको संख्यामा उपस्थित रहेका र तीमध्ये केही मात्र तीव्र गतिमा स्थानान्तरित हुने गरेको उक्त अध्ययनले जनाएको छ। ती जीवाणुहरू पाचन, पोषण तत्त्वको मिश्रण र रोगको रोकथाममा लाभदायक हुन्छ।

नेदरल्यान्ड्सका वैज्ञानिकको यो अध्ययन जर्नल माइक्रोबिओममा प्रकाशित भएको छ। नेदरल्यान्ड अर्गनाइजेसन फर एप्लाइड साइन्टिफिक रिसर्च (टीएनओ) को एक दलले जोडीहरूसँग चुम्बन बानीबारे थुप्रै प्रश्न गरेका थिए। यसमा गत वर्ष उनीहरूले कति पटक एकअर्कालाई चुम्बन गरेका थिए ? र, अन्तिम पटक लक्ड लिप्स किस (अधर चुम्बन) कहिले गरेका थिए ? जस्ता प्रश्न गरेका थिए ।

वैज्ञानिकहरूले सुरुमा ती जोडीको जिब्रो र र्‍यालको नमूना र १० सेकेन्डपछि फेरि त्यही नमूना लिएका थिए। त्यसपछि उनीहरूलाई जीवाणुको पहिचानलाई सम्भव बनाउने प्रोबायोटिक पेयपदार्थ सेवन गराइयो। अन्तमा जोडीको दोस्रो चुम्बन प्रक्रियापछि वैज्ञानिकहरूले कति जीवाणु अर्को साथीको मुखमा पुगेको पत्ता लगाउन सफल भए।

यही प्रयोगबाट दस सेकेन्डमा ८ करोड जीवाणु चुम्बन गर्नेको मुखमा पुग्ने गरेको खुलासा भएको हो। ‘फ्रेञ्च किसिङ (दीर्घ चुम्बन) को माध्यमबाट निकै तीव्र गति र ठूलो संख्यामा जीवाणु एकअर्काको मुखमा पहुँच बनाउने गर्छ’ अध्ययन दलका प्रमुख प्राध्यापक रेमको कोर्ट भन्छन्। यस अध्ययनबाट जीवाणुबाट उत्पन्न समस्याको उपचार खोज्नमा मद्दत मिल्ने विश्वास गरिएको छ।

वैज्ञानिकहरूले यो अध्ययन राजधानी एम्स्टर्डमस्थित जीवाणु संसारको पहिलो म्युजियम (आर्टिस रोयल जु) को सहयोगले गरेको हो। यो चुम्बनको विकासवादी व्याख्या हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्