जीवनाथ राम्जालीका मर्मस्पर्शी १४ गीत–गजल

Jibnath timilsina ramjali
लाेकपाटी न्यूज

काठमाडौं। साहित्य र सिर्जनाका स्रष्टा र पारखीहरुको आधुनिक चौतारी हो सामाजिक सञ्जाल। हिजो सिर्जना सम्प्रेषणका लागि जमघट नै जरुरी हुन्थ्यो, अब फेसबुककै पोष्टमा पारखी झुम्मिन्छन्। यहाँ हामीले तिनै सामाजिक सञ्जालका सर्जक जीवनाथ तिमिल्सिना राम्जालीका मर्मस्पर्शी १५ झ्याउरे गीत र गजल प्रस्तुत गरेका छौं।

(१)
भन्छेउ अरे फूल पाएँ, रस पाइनँ,
अल्लारे पोई पर्नाले जस पाइनँ।
आफू हिंड्छ परेर चिटिक्क,
मेरो वास्ता गर्दैन फिटिक्क।।
डाली पलाइछ
तिम्रोबारे मलाईझैं चिन्ता त
अरु कल्लाई छ ?

जोरीपारि शत्रुलाई भो हाँसो,
भैगो अब नगर गुनासो।
तिम्रो कसम होइन भो ढाँटेको
तिमी बिना छैन रात काटेको।।
खोली बगर
अरुसँग हाँसेर बोल्दैमा शंका नगर।।।

(२)
साथीहरू गिज्याउछन् घोचेर
जान्छ क्यारे जिन्दगी सोचेर।
कति बसौं यो टाउको कनाएर,
जाउँकी बिदेश पासपोर्ट बनाएर ।।
निलो आकाशमा,
बाँचे आउँला सरर प्लेनमा, मरे बाकसमा।

देशभित्रै केही गर्छु भनेर
बसेको थेँ दिगम्बर बनेर।
गरिनँ भो नेताको चाकरी
किन दिन्थे हामीलाई नोकरी।।
राजनीतिको खेल,
ल्याउने अरे रसाको पानीजहाज, चाइनाको रेल।।

दुईतिहाईले केही गर्छ भनेको,
रैनछ तिनको आफ्नै घर बनेको।
जो आए नि आफ्नै पेट भरनि,
कहिले होला देश विकास गरनी।।
परदेशी दाइ,
म त आउँछु तिमी भा देशतिरै, भिसा पठाउ है।।

यो शहरमा रैनछ कोहीको भर,
गाउँ फर्कौं त भत्कियो बाउको घर।
यहाँ पनि छैन केही उपति,
कस्ले दिन्थे खानलाई मफति।
छैन खाने नुन
त्यहीँ आएर तिरौंला साइँला दाइ, तिम्ले लाको गुन।।

(३)
यसपालि म गएँ भने आउँछु कि आउँदिनँ,
अर्को सालको टीका थाप्न पाउँछु कि पाउँदिनँ।
मनले आफ्नो ठानेका नै आज पराई भैदिए,
सँगै यात्रा गर्छु भन्ने बाटो मोडी गैदिए।।
शंकै लाछ बर्खे खेती लाउँछु कि लाउँदिनँ
यसपालि म गएँ भने आउँछु कि आउदिनँ।।।

मन कस्तो फुरुङ्ग थ्यो उनी हुँदा वरिपरि,
नखोजेको हैन भुल्न, झल्को आउँछ घरिघरि।
के भनौं खै उनको माया पाउँछु कि पाउँदिनँ ?
यसपालि म गएँ भने आउँछु कि आउँदिनँ।।

उसकै बाटो हेरी बस्छु बिहान अनि साँझ,
नौनीजस्तै पग्लिने मन ढुंगै भयो आज।
उनको शिरमा सिन्दुर देख्न पाउँछु कि पाउँदिनँ,
यसपालि म गएँ भने आउँछु कि आउँदिनम्।।

शुन्य भयो बनपाखा कोइलीले बसाइँ सार्‍यो,
यो संसारी मायाजालले जोगी भई हिड्नु पार्‍यो।
तिहारमा देउसी खेल्न पाउँछु कि पाउँदिनँ
यसपालि म गएँ भने आउँछु कि आउँदिनँ।।

(४)
जरुवाको पानी खान्थे, भरुवाको खान थाले,
हरि किर्तन गाउनेहरु, दोहोरी साँझ जान थाले।
कूलको छोरी मुलको पानी, बाउको इज्जत फाल्न थाले,
मन्दिरमा दीप बाल्नेले राँके जुलुस बाल्न थाले।।
भन्ने मात्रै जनताका सेवक, गुण्डाहरु पाल्न थाले,
को हो कम्निस्ट को हो कांग्रेस, सबै उस्तै झालेमाले।।।

(५)
धेरै भयो उनी सँग बोलचालै नभाको,
किन होला मेरो उनलाई झझल्को नलाको ?
छिनछिनमै फोन आउँथ्यो, म्यासेज परर,
बैगुनीको सम्झनाले मन भयो धरर।।

दिल चोर्नी बाटो मोड्नी रैछ इलम उनको,
पेशेवर बैमानीलाई के अर्थ भो गुनको ?
सानो दुख पर्दा पनि बिन्ती बिसाउनेले,
किन नाटक रच्या होला व्यर्थै रिसाउनेले।।

तिम्रो कसम भुल्दिनँ म ज्यानै गए पनि,
मन उसले चोरेकी थिई यसै भनिभनि।
स्वार्थ मेरो केही थिएन ऊसँग त लिनु,
साथ दिन नसक्नेले किन वचन दिनु ?

शन्यू लाग्छ बगैंचा त फूलै फुले पनि,
धरोधर्म भुल्दिनँ म उनले भुले पनि।
तिमी स्वार्थी भयौ त नि बद्लेको म छैन,
रुख चढाई फेद काट्ने पेशा मेरो हैन।।

सफताको कामना छ खुसियाली छाओस्,
बीच बाटोमा मलाई सम्झी रुने दिन नआओस्।
सुनको थालमा दुई गास सुनै खाए पनि,
बैमानीको रुप उहीँ हो दुधले धोए पनि।।

(६)
कुन शहरमा पुग्यौ तिमी, मनले रोजेकी मैना,
ओल्लो कुना पल्लो छेउ कहीँ खोजे नि छैन।
बिरानो मुलुकमा बसाई पो सर्‍यौ कि ?
प्यास मेटाउन लेकबाट बेशी झर्‍यौ कि ?

महिना दिनमा एकैपटक चिरबिर कराउँछौ,
चारोसरि यो दिल टिप्छौ, वर्षौ हराउँछौ।
साँझ बिहान नेराफेरा घुमिरहन्थ्यौ पहिले,
न्यास्रो मेट्न पूर्व–पश्चिम् कहाँ खोजौं मैले ?

मैले हिंड्ने गोरेटोमा पुल बनेझैं लाग्थ्यो,
एक्लो मनको बगैंचाको फूल बनेझैं लाग्थ्यो।
गुँड नै सार्‍यौ कि त तिम्ले, चरन मात्रै हो ?
तिमी वास बस्ने डाली, भुल्नै गाह्रो भो।।

तारे भीरमा पञ्जाभरि ल्याउँदा सिनो बोकी,
शिकारीको निशानीमा परेर पो हो कि ?
पाखातिर काले कौवा रगमगाउँदा खेरि,
नानाभाँती सोच्छ मनले, भेटै हुन्न फेरि।।
जताततै कोलाहल छ, शान्ति कतै छैन,
तिमी बिना ब्याकुल भाछु, फर्की आउ है मैना।।

(७)
लाहुर जान हिँडेको भौंतारी,
थकाइ मार्ने भञ्ज्याङ्को चौतारी।
थोत्रो झोला गलबन्दी भिरेर,
बाँचे आउँला यहि बाटो फिरेर।।
घरको माया मुटुमा रोपेर,
धन कमाउने सपना बोकेर।।।

बाँचे ल्याउँला सम्पत्ति झोलीमा,
मरे उतै विदेशी खोलीमा।
जीवन भन्नु के रैछ सास मात्रै,
परदेशीको फर्कने आश मात्रै।।
गरीबको यस्तै हो जुनी,
बाँचे भोकै मरे नि रुखमुनी।।।

(८)
मन पग्लेर पानी भो,
सपना उडेर खरानी भो।
तिम्रो बाटो हेर्दाहेर्दै,
मिलन एकादेशको कहानी भो।।
केश फुलेर सेतै छ,
उ जाने मुल बाटो यतै छ।।।
दिन होस् या रात एकैनास,
उठ्यो कि नजर तेतै छ।।।।

(९)
मीठो खाने रहरले मात्रै सहर पसेको हैन,
खुवी अन्सार गरेकै छु यसै बसेको छैन।
जहाँ पुगे नि धर्तीसँगै खेल्ने बानी पर्‍यो,
देश सुहाउँदो भेषको मर्म झेल्ने बानी पर्‍यो।।

गाउँघरमा सामन्तको बिगबिगीले गर्दा,
सोझासाझा बाँच्नै गाह्रो रवाफमा पर्दा।
लोकतन्त्र, गणतन्त्र जे–जे आए पनि,
गाको छैन लुटतन्त्रको जालो अझै पनि।।

बाको पाला मुखिया थिए अहिले उनै हर्ता,
अनिवार्य बन्नैपर्ने उनकै कार्यकर्ता।
अधिकांश विकास बजेट गाउँतिरै गाछ,
स्थानीय नेताज्यूलाई खाने बाटो भाछ।।

गाउँको माया नभएको कहाँ हो र मलाई ?
निकम्मा भई बाँचेको छु मुटु जलाई जलाई।
मह काट्नेले हात चाट्छ बिरोध गर्‍या हैन,
मनलाग्दी चल्छ त्यहाँ अख्तियार नै छैन।।
श्रमजीवी बाँच्न सक्ने थिति बनेपछि,
फर्कनेछु सबलाई समान नीति बनेपछि।।।

(१०)
नुन खुवाएर सुन हगाउनेलाई,
मरेको लाशमा आँसु बगाउनेलाई।
सखी भनौं या शत्रु ठानौं ?
कात्रो झिकेर फरिया लगाउनेलाई।।

पूजारी लखेटी मूर्ति पुज्नेलाई
अरुलाई रुवाउदा आँफै रुझ्नेलाई।
कुरा गर्‍यो कुरैको दुख,
कसरी सम्झाउँ म कुरै नबुझ्नेलाई ?

औंशीको रातमा जून खोज्नेलाई,
बेइमानको बदलामा गुन खोज्नेलाई।
मृत्युको पलमा मलामीसँग,
नौमती बाजाको धुन खोज्नेलाई।।

(११)
अलि वर सर, त्यता चिसो भैं भयो,
माया मरे झैं भयो।
कि सक्छेउ र तिम्ले, बुनेको जाल फुकाउन,
मनमा माया लुकाउन ?
दाहिने पर्‍यो वर, देब्रे सार पीपल,
भएन मन शीतल।

नल काटेर टौवा, गहुँको बाला ठटाउनी,
नबोलेरै हटाउनी।
ल्याछु पोको पारी, दिउँला भनी जोवन,
मन नपरे भो भन।।
किन हुन्थ्यो सानी, उखु पेली अमिलो,
नबोलेर गमिलो ?

(१२)
स्याउलाको झुपडीमा चाँदीको ताला,
डढेको नाडीमा सुनको बाला।
खुइलेको कपालमा चमेलीको तेल,
भित्र खोक्रो बाहिर बोक्रो करिमाको खेल।

भात खाने खोला खेत अहिले भयो टारी,
आधा टाउको खुइल्यार लामालामा दाह्री।
मुखलाई मोही छैन, के जातिलाई घिउ,
गरि खाने हुति छैन, नाठे पोइको निहु ?

(१३)
संसार भुली सम्झ प्यारी तिम्ले नि एकैछिन,
तिमी बेहुली, म बेहुला भाको दिन।
खै कस्ले जान्यो प्यारी जिन्दगिको यो भूमरी,
म नि कुमार बस्थेँ होला, तिमी नि कुमारी।।

हिउँदमा हावाहुरी, झरी, बादल, बर्खा,
कहाँ पुगी चुँडिने हो जिन्दगीको चर्खा ?
जति उमेर ढल्किँदै गो, तन्नेरी भो मन,
माया प्रीति ठूलो होरे, होइन प्यारी धन।।
कसैले माया लाउँदैन, कटुवाल घोकेर,
मनमा भए आफैं बस्छ रोकिन्न रोकेर।।।

(१४)
पञ्चासेको फेदीमा जन्मियो,
गाउँबेशीमै रमाउने मन थियोे।
सुखसहेलमा रमाउने रहरमा,
घर छोडेर पसियो शहरमा।।
राम्जा पर्वत,
लहलहैमा छोडियो गाउँघर, भइयो बर्बाद।।।

तिम्लाई भोको राख्ने मन थिएन,
मागी खान इज्जतले दिएन।
गरि खाने जाँगर मरेसी,
दीनदुखी बाउआमा परेसी।।
राम्जा पर्वत
थाहै नपाई दश वर्ष पुगेछन्, आको घरबाट।।।

लालाबाला बोकेर आइहालेँ,
खानु ठक्कर जीवनमा खाइहालेँ।
न सक्याछु चार पैसा कमाउन,
न त सकेँ कोही आफ्नो बनाउन।।
राम्जा पर्वत,
जन्मथलो छोडेर आउनाले, भइयो बर्बाद।।।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्