चौतारामा तीन महिने स्वरोजगार तालीम सुरु

Chautara
लाेकपाटी न्यूज

काठमाडौं। सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न सीपमूलक तालीम सञ्चालन गरेको छ।

नगरपालिकाले महिलाहरुको उद्यमशीलता वृद्धि गर्न विभिन्न तालीम सञ्चालन गरेको हो। तालीममा सिलाइ–कटाई, ढाका बुनाई, बेमौसमी तरकारी खेती, वेकर, इलेक्टिसियन, हाते इम्बोइड लगायतका विधामा सैद्धान्तिक र व्यवहारिक ज्ञान सिकाइनेछ।

तालीमको प्रदेश नं.–३ का सामाजिक विकासमन्त्री युवराज दुलालले शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्। तीन महिनासम्म सञ्चालन हुने तालीममा १४० जना प्रशिक्षार्थी सहभागी भएका छन्। तालीममा उनीहरुले आफ्नो रुचिअनुसारको कक्षा लिनेछन्।

तालीमको उद्घाटन गर्दै मन्त्री दुलालले देशमै रोजगारीका अवसर सिर्जना गर्न यस्ता तालीम महत्वपूर्ण हुने बताए। मन्त्री दुलालले भने, ‘देशमा रोजगारीको सिर्जना नगरी समृद्धिको कल्पना गर्न सकिँदैन। त्यसका लागि यस्ता तालीमहरु महत्वपूर्ण हुन्छ। महिलाहरुलाई उत्पादनमूलक सहकारी र उद्यमशीलतामा जोडेर मात्रै आत्मनिर्भर बनाउन सकिन्छ।’

तालीमका लागि बनेपा पोलिटेक्निक इस्टिच्युटले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ। तालीम विभिन्न समूहका १४० जना महिला सहभागी छन्। यसअघि पनि नगरपालिकाले महिलाहरुका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरिसकेको छ।

‘महिलाहरु आत्मनिर्भर नभएसम्म गरीबी घटाउन सकिँदैन, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिँदैन’ चौतारा नगरपालिका उपप्रमूख जानुका पराजुलीले भनिन्, ‘महिलाहरुलाई आत्मनिर्भर र स्वरोगजार बनाउने हाम्रो प्रयास छ, त्यसैका लागि तालीम सञ्चालन गरेका हौं।’

महिलाहरु स्वरोजगार भए घरपरिवारमा आर्थिक अनुशासन र लैंगिक अधिकार स्थापित हुने पराजुलीले बताइन्। ‘हामीले समानता र आत्मनिर्भरताको राजनीतिक नारा दियौं, त्यसलाई कार्यान्वयन गर्न साना तर दीर्घकालीन महत्व राख्ने कामको थालनी गर्नैपर्छ। यो तालीम त्यसका लागि सहयोगी हुनेछ’ उनले भनिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्