प्रलेसकाे बिवाद चर्कियाे, ३८ लेखकद्वारा विद्रोह !

photo
लाेकपाटी न्यूज

काठमाडौं, १६ चैत । प्रगतिशील लेखक सङ्घ (प्रलेस) भित्र बिवाद चर्किएको छ । संघका ३८ जनाले संघबाट विद्रोह गर्दै अग्रगामी सांस्कृतिक आन्दोलनका लागि साझा मञ्च निर्माणको पहल सुरु गर्न आह्वान गरेका छन् ।

संघमा आवद्ध सल्लाहकार परिषद् सदस्य, केन्द्रीय पदाधिकारी तथा सचिवालय सदस्य र केन्द्रीय सदस्य तथा राष्ट्रिय परिषद सदस्यसमेत गरी यसमा आवद्ध छन् । जसमा आहुति, ईश्वरचन्द्र ज्ञवाली, प्रा.डा. जगदीशचन्द्र भण्डारी, प्रा.डा. ताराकान्त पाण्डेय, नारायण ढकाल, मित्रलाल पंज्ञानी रहेका छन् । यस्तै केन्द्रीय पदाधिकारी तथा सचिवालय सदस्य राजबहादुर कुँवर, रोशन जनकपुरी, विजयराज आचार्य, सरिता तिवारी, राजु स्याङ्तान, सङ्गीत श्रोता  छन् भने  केन्द्रीय सदस्य तथा राष्ट्रिय परिषद सदस्यमा अनिल श्रेष्ठ, अर्जुनकुमार ढकाल, ईश्वरी ओझा, कल्पना चिलुवाल,  खगेश्वर भण्डारी, गुरुङ सुशान्त, गोपाल वैद्य, गोविन्द काफ्ले, गौरी दाहाल, छायादत्त न्यौपाने, जीतबहादुर लामा, दीपक सापकोटा,परशुराम कोइराला, प्रमोद धिताल, मोदनाथ मरहट्ठा, यज्ञबहादुर डाँगी, रमन पौडेल, विदुर वस्ती,      विनोदविक्रम केसी, विमला चन्द, विष्णुमाया न्यौपाने, वैजनाथ ठाकुर, शकुन्तला जोशी, शैलज पौडेल, श्याम शाह, र स्वप्निल स्मृति रहेका छन् ।

संगठनात्मक क्षेत्रमा विचार–प्रतिबद्ध र संगठन–सम्बद्ध लेखक–प्रतिभाहरूको साझा मञ्चका रूपमा संघले आफूलाई विकास गर्न नसकिरहेको भन्दै असन्तुष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनमा खास पार्टीसँग प्रत्यक्षतः असम्बद्ध सल्लाहकारहरू, केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई भेला, बैठक, कार्यक्रम र छलफलमा सम्पूर्णतः निषेध गर्ने नेतृत्वको कार्यशैलीले प्रलेसलाई साझा मञ्चका रूपमा अघि लैजान नदिने अवस्था देखियो ।’

वैचारिक बहस गर्ने र भिन्न मत राख्ने सदस्यहरूलाई ११औं राष्ट्रिय सम्मेलनका लागि बनाइएका उपसमितिहरूमा कतै पनि नराखिनु, खास पार्टीहरूसँग सम्बन्ध नराख्ने सल्लाहकारहरू तथा पूर्वअध्यक्षहरूसँग कुनै पनि सरसल्लाह नगरिनु, विधानले कल्पनै नगरेको निर्देशन समिति गठन गरेर अवैध रूपमा खासखास पार्टी–प्रभुत्वलाई सिधै प्रलेस सञ्चालनको तजबिजी दिनु लगायत निर्णय र घटनाले प्रलेसलाई वैचारिक संस्थाका रूपमा विकास गर्ने नभइ सत्तारुढ दल र केही अवसरछोपुवा लेखकहरूको भिडका रूपमा अघि बढाएको देखिएको असन्तुष्ट समूहको आरोप छ ।

फरक विचार राख्ने, आलोचनात्मक चेत भएका, वैचारिक बहस उठाउने र अग्रगामी सांस्कृतिक आन्दोलनमा जोड दिने पंक्तिलाई निरन्तर निषेध गर्ने प्रवृत्तिले उत्कर्ष लिएको भन्दै वैचारिक तथा व्यावहारिक रूपमा प्रलेसको मूल नेतृत्वले ११औं सम्मेलनअगावै संगठनलाई एकलकाँटे, एकपक्षीय र उस्तै स्वार्थ मिल्नेहरूको अड्डामा बदलिसकेको समेत आरोप लगाइएको छ ।

वर्तमान सामाजिक, आर्थिक, सांस्कृतिक अवस्थालाई अग्रगमनकारी यथार्थमा परिवर्तन गर्नका लागि साझा मञ्च निर्माणको पहल सुरु गर्न समेत असन्तुष्ट समूहले लेखक तथा साहित्यकारलाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्