बारमा नयाँ नेतृत्वका लागि निर्वाचन शुरु

Nepal bar election
लाेकपाटी न्यूज

काठमाडौं, १६ चैत । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको निर्वाचन शुरु भएको छ । बारको नयाँ नेतृत्वको लागि शनिबार देशभरि नै निर्वाचन शुरु भएको हो ।

बारको २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नयाँ नेतृत्वका लागि देशभर रहेका १० हजार ३ सय १३ मतदाताले मतदान गर्दैछन् । शनिबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म देशभरका ३५ मतदान केन्द्रबाट मतदान हुने भएको हो । नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार बनेका छन् ।

बारको २५ सदस्सीय कार्यसमितिका लागि ६३ को उम्मेदवारी परेको छ । तीन वर्षेका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष निर्वाचित हुनेछन् । देशभरिबाट मतपेटिका सङ्कलन गरेपछि काठमाडौंमा मतगणना हुने बारका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए ।

काठमाडौं उपत्यकाको सर्वोच्च अदालत बार कार्यालय, उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्