काठमाडौं, १६ चैत। एसईईको प्रश्नपत्र आउट भएको विषयमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राजीनामा मागेपछि शिक्षामन्त्री पोखरेलले कडा प्रतिक्रिया दिएका छन्।
महोत्तरी, धनुषा, सप्तरी र पर्सामा प्रश्नपत्र आउट भएको विषयमा प्रदेशका मुख्यमन्त्री राउतले शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेपछि पोखरेल र राउतबीच वाकयुद्ध भएको हो।
एसईई गराउने जिम्मेवारी लिएर पनि संघीय सरकारका मन्त्री पोखरेलले राम्रोसँग कार्य नगरेको भन्दै मुख्यमन्त्री राउतले राजीनामा मागेका थिए। मुख्यमन्त्री राउतले प्रदेश २ को सरकारलाई बदनाम गराउन षड्यन्त्र गरेरै एसईईको प्रश्नपत्र आउट गराएको अभियोग लगाएका छन्।
मुख्यमन्त्री राउतले राजीनामा मागेपछि शिक्षामन्त्री पोखरेल आक्रोशित बनेका छन्। पोखरेलले राउतलाई पदीय हैसियत सम्झाएका छन्। शिक्षामन्त्री पोखरेलले संघीय सरकारको बदनाम गराउन र सहज रुपमा भएको एसईईको परीक्षालाई केही तत्वले बिथाल्न खोजिएको दाबी गरेका छन्।
नेपाली रेडियो नेटवर्कको बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग शनिबार बिहान कुरा गर्दै शिक्षामन्त्री पोखरेलले मुख्यमन्त्री लालबाबु राउतले राजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताएका छन्। शिक्षामन्त्री पोखरेलले प्रदेश २ का मुख्यमन्त्री राउतले नै एसईईको परीक्षाको उचित व्यवस्थापन गर्न नसकेको बताए।
‘मैले राजीनामा दिन्नँ। सरकार र संघीयतालाई असफल बनाउन प्रश्नपत्र आउट भएको छ’, पोखरेलले भनेका छन्, ‘मुख्यमन्त्रीजस्तो व्यक्तिले गैरजिम्मेवारी रुपमा अभिव्यक्ति दिनु हुँदैन । मुख सम्हालेर बोल्नुपर्छ । पदीय जिम्मेवारीलाई भुल्नु हुँदैन। प्रश्नपत्र आउट गराउने दोषी को हो पहिला त्यसलाई खोजेर कारबाही गर्नुपर्छ’, उनले भने, ‘प्रश्नपत्र संघीय सरकारले बनाएको हो।’
पोखरेलले थपे, ‘बजेट, अनुगमन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको हो।’ मुख्यमन्त्री राउतले माग गरेअनुसार सात सय ५३ वटा स्थानीय निकायमा परीक्षा बोर्ड बनाउन नसकिने शिक्षामन्त्री पोखरेलले बताए। प्रदेश सरकारले त्यसको उचित व्यवस्थापन नगर्दा समस्या आएको शिक्षामन्त्रीले बताए।
शिक्षामन्त्री पोखरेलले प्रश्नपत्र आउट भयो भन्दैमा सडकमा गएर प्रदर्शन गर्दा विद्यार्थीको भविष्य थप अन्यौलमा पर्ने शिक्षामन्त्रीले टिप्पणी गरेका छन्। ‘प्रश्नपत्र आउट भयो भन्दैमा सडकमा जाने होइन’, उनले भने, ‘परीक्षाको तयारी पो गर्नुपर्छ। सडकमा गएर प्रदर्शन गर्नु राम्रो होइन, हरेक कुरालाई राजनीतिकरण नगरौं।’



लाेकपाटी न्यूज

