काठमाडौं, १५ चैत। संघीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। अन्य जिल्लामा भने परीक्षा जारी रहनेछ।
बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको हो।
मन्त्री गिरिराजमणि पोखरेलले भने, ‘स्थगित परीक्षा यसै महिनाभित्र हुने गरी तालिका प्रकाशित गर्छौं।’ उनका अनुसार बिहीबार रद्द भएर २२ गतेका लागि तय भएको विज्ञान विषयको परीक्षा भने त्यही दिन हुनेछ। स्रोतका अनुसार २२ गतेदेखि जोडेर बाँकी परीक्षा गर्ने तयारी छ।
प्रदेश २ मा एसईई परीक्षा दिने ७० हजार ५६८ जना परीक्षार्थी छन् भने २६२ परीक्षा केन्द्र तोकिएको थियो। मन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्नुलाई आपराधिक घटना भएको र संलग्नलाई कारबाही गरिछाड्ने बताए।
आइतबारदेखि शुरु भएको परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, सोमबार अनिवार्य नेपाली विषयको परीक्षा भएको थियो। बुधबार गणित विषयको परीक्षा भएको थियो भने बिहीबार विज्ञानको परीक्षा दिइसकेपछि रद्द भएको थियो।
शुक्रबार सामाजिक विषयको परीक्षा नै भएन। लगातार प्रश्नपत्र बाहिरिएपछि सबै प्रश्नपत्र बाहिरिएको आशंकामा अनुसन्धान भइरहेको छ। शिक्षा मन्त्रालयकाअनुसार अंग्रेजी, नेपाली र गणितको परीक्षा भने रद्द हुने छैन।



लाेकपाटी न्यूज

