नयाँदिल्ली, १६ चैत। भारतका सयभन्दा बढी फिल्म निर्माताले भारतीय जनता पार्टी (भाजपा) लाई भोट नदिन सार्वजनिक अपिल गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारको शासन कालमा ध्रुवीकरण र घृणाको राजनीति मौलाएको भन्दै आगामी लोकसभा चुनावमा भाजपालाई भोट नदिन उनीहरुले अपील गरेका हुन्।
भारतीय अखबार ‘द हिन्दुु’मा छापिएको समाचारअनुसार भारतका एकसयभन्दा बढी स्वतन्त्र फिल्म निर्माताहरु ‘लोकतन्त्र बचाओ’ मञ्चअन्तर्गत एकजुट भई भाजपालाई भोट नदिन अपील गरेका हुन्।
जसमा चर्चित निर्माताहरु आनन्द पटवर्दन, एसएस शशिधरन, सुदेवन, दीपा धनराज, गुरविन्दर सिंह, पुष्पेन्द्र सिंह, कबीर सिंह चौधरी, अञ्जली मोन्टेइरो, बीना पाँजसमेत सामेल रहेका छन्।
भाजपा शासनकालमा भीडद्वारा हत्या, गौरक्षाका नाममा देशलाई साम्प्रदायिकताको आधारमा विभाजन गरिएको र कुनै व्यक्ति वा संस्थाले सरकारप्रति थोरै असहमति जनाउना साथ उनीहरुलाई राष्ट्रविरोधी वा देशद्रोही करार गर्ने गरिएको फिल्म निर्माताको भनाइ छ।
उनीहरुका अनुसार भाजपा शासनकालमा ध्रुवीकरण र घृणाको राजनीति बढेको, दलित, मुसलमान र किसानलाई किनारामा धकेलिएको, सांस्कृतिक तथा वैज्ञानिक संस्थानहरुलाई कमजोर बनाइएको र सेन्सरशिपमा बढोत्तरी भएको छ।
फिल्म निर्माताहरुले आगामी लोकसभामा समझदारीपूर्वक मतदान नगरे फासीवाद निम्तने र त्यसले जनतालाई मुश्किलमा पार्ने निचोडसमेत सुनाएका छन्।



लाेकपाटी न्यूज

