एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा सिआईबीले छानबिन गर्ने

see student
लाेकपाटी न्यूज

काठमाडौं,१५ चैत ।  प्रदेश नम्बर २ मा एसईई परीक्षाको प्रश्नपत्र दैनिक बाहिरिएपछि छानबिनको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) लाई दिइएको छ।

शुक्रबार बसेको एसईई परीक्षा सुरक्षा समितिको बैठकले प्रश्नपत्र बाहिरिएको विषय छानबिनको जिम्मा सिआईबीलाई दिने निर्णय गरेको हो। बैठकको अध्यक्षता शिक्षामन्त्री गिरिराजमणी पोखरेलले गरेका थिए। गोप्य ढंगले राखिएको प्रश्नपत्र परीक्षा हुनुभन्दा केही मिनेट अघिमात्र खोल्नुपर्ने भए पनि अघिल्लै दिन विद्यार्थीको हातहातमा परेपछि शुक्रबार आकस्मिक रुपमा सुरक्षा समितिको बैठक बसेको हो।

बैठकले ७७ जिल्लाकै परीक्षा केन्द्रको अनुगमन गरेर प्रश्नपत्रको अवस्थाबारे चार घण्टामा रिपोर्ट पठाउन निर्देशन समेत दिएको छ। अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा दुवै दिनको एसईई परीक्षा रद्ध गरिएको छ। प्रश्नपत्र बाहिरिएलगत्तै दुई दिनको एसईई परीक्षा रद्ध भएपछि विद्यार्थीले भने प्रदेश २ का सबै जिल्लामा आन्दोलन चर्काएका छन्।

प्रश्नपत्र बाहिरिएको विषयमा ७७ जिल्लाबाटै अनुगमन रिपोर्ट आएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक साँझ ६ बजे बस्ने भएको छ। ६ बजेको बैठकले परीक्षाका विषयमा ठोस निर्णय गर्ने परीक्षा नियन्त्रण्क विष्णु अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्