एफआर टावरमा आगलागी, २५ काे मृत्यु

fire
लाेकपाटी न्यूज

एजेन्सी । बंगलादेशको एफआर टावरमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । बंगलादेशको गगनचुम्बी भवनमा आगलागी हुँदा शुक्रबार मध्यान्हसम्ममा मृत्यु हुनेको संख्या २५ पुगेको प्रहरीले जनाएको छ ।

अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन्। राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीबार अपराह्न आगलागी शुरु हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं कर्मचारी, कामदारहरु कार्यरत रहेको प्रहरीले जनाएको छ । प्रहरीले भवनको स्वामित्व रहेका व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ । आगलागीका कारण केही व्यक्ति भवनको बाहिर झुण्डिएका तारहरुको सहाराले तल ओर्लिएका थिए भने केही झ्यालबाट हामफालेका थिए ।

अधिकारीहरुका अनुसार एक जना श्रीलंकाली समेत कम्तीमा छ जनाको मृत्यु ज्यान जोगाउन हामफालेका कारण भएको थियो । एक जना वरिष्ठ अग्निनियन्त्रण अधिकारी मोहसिन अलिले भवन खाली गराएर खोजतलास शुरु गरिएको जानकारी दिए ।

उनले आगलागीबाट सबैभन्दा बढी प्रभावित आठदेखि दशौं तल्ला रहेको बताए । आगलागीबाट अरु व्यक्तिको मृत्यु भएको वा हराइरहेको भन्ने कुनै जानकारी प्राप्त नभएको प्रहरीको भनाई छ । तर ७० जनाभन्दा बढी व्यक्तिलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।

उक्त आगलागी बिहीबार अपराह्न भएको थियो । आगलागीको चपेटामा परेका व्यक्तिको उद्धारका लागि ठूलो संख्यामा स्थानीयबासी जुटेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्