काठमाडौं,१५ चैत। नेपाली वैज्ञानिकले अतिसूक्ष्म प्रकाशकीय चिपको विकास गरेका छन। पहिलो पटक विकास भएको सो चिपले बायोप्सी (शरीरको अङ्ग झिकेर परीक्षण गर्ने काम) नगरी सिटी स्क्यान उपकरणले जस्तै भित्री तन्तुको जानकारी लिन सहयोग पुर्याउँछ। सो चिपलाई नेपालमा गणितीय परीक्षण गरी बेलायतमा सिलिकन वेफरमा रसायनबाट कुँद्ने काम गरिएको हो।
फुटुङ रिसर्च इन्ष्टिच्यूटमा कार्यरत वैज्ञानिकले सफलतापूर्वक उक्त प्रविधिको विकास गरेका हुन्। इन्ष्टिच्यूट र नेपाल रिसर्च एलायन्सले ललितपुरमा बुधबार अयोजित कार्यक्रममा सो जानकारी दिएको हो। आवश्यक सम्पूर्ण प्रकाशकीय उपकरणलाई कलमको निबभन्दा पनि सानो आकारमा एकीकृत गर्दै अत्यन्त कम मूल्यका रुपमा विकास गर्न उनिहरु लागि रहेका छन्।
इन्ष्टिच्यूटका प्रमुख वैज्ञानिक डा असीम ढकालले भने, “यस प्रविधिलाई श्वासप्रश्वास रोग ९फोक्सोसम्बन्धी० को निदान, अवस्था र फोक्सोको भित्री भागको छविको निर्माण गर्न प्रयोग गर्ने योजना बनाएका छौँ। ” उनले नेपालमै नेपाली वैज्ञानिकले नानो–प्रविधिको विकास गर्न सक्छन् भन्ने विश्वास दिलाउन यसको आविष्कार गरिएको बताए।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान तथा प्रविधिको थप विकास र विस्तार गर्न नयाँ नीति ल्याउन लागेको जानकारी दिए।उनले भने“नेपालमा प्रविधिको धेरै सम्भावना भए तापनि हालसम्म तीव्र गतिमा हुनुपर्ने विकास भइसकेको छैन। ”
सामाजिक अभियानकर्मी महावीर पुनले सरकारको नीति आफनो तरिकाले अघि बढेका कारण वैज्ञानिकले आशातीत उपलब्धि हासिल गर्न नसकेको बताउँदै प्रदेश नं ३ सरकारले विज्ञान प्रविधि सम्मेलनमा खर्च गर्न लागेको रु ५० लाख संसाधनमा खर्च गरेको भए ठूलो उपलब्धि हासिल हुने बताए।



लाेकपाटी न्यूज

