काठमाडौं। ठेलाको व्यापारलाई धेरैले हेयको दृष्टिले हेर्छन्। हामीकहाँ फुटपाथको पसलले नि के हुन्छ र ? भन्ने मनोविज्ञान छ। दैनिकजसो हजारौं नेपालीले विदेश जान विभिन्न ठाउँमा लाइनमा उभिन्छन्। नेपालमै केही गर्न सकिन्छ भन्ने प्रेरणा औंलामा गन्नेहरुसँग मात्र छ, तीमध्येकी एक हुन्, नुवाकोट घर भई विजुली बजारमा चटपटे बेच्ने रेनु सुवेदी।
उनी विगत ८ महिनादेखि काठमाडौंको थापागउँमा बसेर बिजुलीबजारस्थित खोलाको किनारमा ठेलागाडामा चटपटे र पानीपरी बेच्दै आएकी छिन्। उनलाई विदेश जान वा कुनै अफिसमा जागिर खानुभन्दा स्वरोजगार बन्नुमा गर्व लाग्छ। तिनै कर्मशील, लगनशील र स्वरोजगार महिला, जो काठमाडौंमा बसेर ठेलागाडामा चटपटे र पानीपुरीको व्यापारबाट जीविकोपार्जन गरिरहेकी छन्। सुवेदीसँग मधुरीमा पाण्डे र वेदनाथ ढकालले गरेको कुराकानी।
हजुरको घर कहाँ हो, संक्षिप्तमा आफ्नो परिचय दिनोस् न ।
मेरो नाम रेनु सुवेदी हो। मेरो घर नुवाकोट। म काठमाडौंमा बस्न थालेको चाहिँ करीब दश वर्ष जति भयो होला। मैले यो चटपटे र पानीपुरीको व्यवसाय थालेको चाहिँ ८ महिना भयो।
यहाँ एक्लै काम गर्नुहुन्छ कि ?
यहाँ हामीले दुइवटा ठेलागाडा राखेका छौं। मेरो ममी, म, भाउजु र बहिनी सबैले यहीं काम गर्छौं।
के–के पाइन्छ त तपाईंहरुको ठेलामा ?
चटपटे, पानीपुरी, दहिपुरी, चाट, मःम, चाउमिन लगायत एउटा होटलमा पाउने जति लगभग सबै खानेकुराहरु हामीकहाँ पाइन्छ।
यो ठेलापसल भर्खरै शुरु गर्नुभएको रहेछ। ठेलापसल नै किन रोज्नुभयो ? कतै अफिसमा काम गरौं भन्ने लागेन ?
यो ठेलापसल गर्नुभन्दा पहिले विभिन्न अफिसमा काम गरेको पनि हो। तर, काठमाडौंमा बाँच्नका लागि हामीजस्तो सामान्य मान्छेले कुनै अफिसमा काम गरेर कमाएको स्यालरीले कठिन छ। फेरि परिवार नै पालिनुपर्ने परिस्थितिमा त झनै गाह्रो छ। अब ठेलापसल नै किन रोजेको भन्ने सन्दर्भमा म आफैँलाई पनि कुनै अफिसमा गएर अर्काको अण्डरमा काम गर्नुभन्दा आफ्नै अपनत्वमा केही गरौं भन्ने लागेर यो काम रोजेको हुँ।
ठेलामा अरु नै केहीको व्यापार गर्दा पनि हुन्थ्यो, चटपटे र पानीपुरी नै रोज्नुभएछ नि, किन ?
किनभने यसबाट कम लगानीमा बढी आम्दानी गर्न सकिन्छ। फेरि अहिले त चटपटे र पानीपुरी हरेक मान्छेको जिब्रोमा झुण्डिएको छ।
बिजुलीबजारको पुलमुनि खोलाको किनारमा ठेला राख्नुभएको छ, कत्तिको आउँछन् ग्राहक ?
यहाँ राख्नु हाम्रो बाध्यता हो। किनभने जहाँ पायो त्यहीं ठेलागाडा राख्न पाइन्न। यहाँ पनि नगरपालिका आएर हैरान बनाउँछ। यहाँ हामीले विशेष गरी प्रभु बैंक, मदन भण्डारी कलेज, भाटभटेनी लगायतलाई टार्गेट गरेका छौं। तर, यहाँ सबै किसिमका ग्राहकहरु आउनुहुन्छ।
यहाँले नगरपालिकाले दुःख दिएको कुरा गर्नुभयो। कस्तो समस्या झेलिराख्नुभएको छ ? यसका लागि के भइदिए हुन्थ्यो जस्तो लाग्छ ?
हामीलाई जसरी नि गरिखानु पर्छ। कि त राज्यले नै यसरी गरिखाने ठाउँ तोकिदिनुप¥यो। कि त यसरी दुःख दिनु भएन। हामीले पनि परिवार पाल्नुपर्छ। छोराछोरी पढाउनुपर्छ। कुनै प्राइभेट अफिसमा खाएको जागीरले यो सब धान्न हामीजस्तो मान्छेलाई गाह्रो छ।
व्यापार कत्तिको हुन्छ त ?
राम्रै हुन्छ। हामीले औसतमा मासिक ५० हजारभन्दा बढी बचत गरिरहेका छौं। दैनिक ५ हजारसम्मको व्यापार हुन्छ, त्यसमा हाम्रो खर्च भनेको त्यस्तै २ हजार पच्चीस सय जति हुन्छ।
ग्राहकको फिडब्याक कस्तो पाउनुभएको छ ?
सबैले राम्रो छ। मिठो छ भन्नुहुन्छ। जे जति ग्राहकहरु यहाँ आउनुहुन्छ सबै खुसी नै भएर जानुहुन्छ।
चटपटे व्यापारलाई कम लगानीमा बढी आम्दानी गर्ने व्यापार भनेर पनि चिनिन्छ। यहाँहरुले कति लगानीबाट शुरु गर्नुभयो ?
हो, तपाईंले भनेजस्तै कम लगानीमा बढी आम्दानी हुने व्यवसाय हो यो। अब लगानीको कुरा गर्दा हामीले २५ हजारको लगानीमा शुरुवात गरेका हौं। अहिले त २ लाख बराबरको लगानी गरिसकेका छौं।
नेपाली युवायुवती विदेश पलायन हुने ट्रेण्ड बढिरहेको सन्दर्भमा तपाई चाहिँ यहाँ चटपटे व्यापार गरिरहनु भएको छ। तपाईंलाई चाहिँ विदेश जान मन लागेन ?
मलाई त्यस्तो ईच्छा भएन। पहिल्यै पासपोर्ट त बनाएको थिएँ। तर, देशमा नै केही गरेर स्वरोजगार बनौं भन्ने उद्देश्यले यो काम गर्न थालेको हुँ। यूरोप जानुभन्दा ठेला पसलमै आम्दानी छ।
अन्त्यमा, के भन्न चाहनुहुन्छ ?
काम सानो, ठूलो हुँदैन। आफ्नो कर्ममा विश्वास गरे हरेक क्षेत्रमा सफल हुन सकिन्छ भन्न चाहन्छु। अर्को कुरा के हो भने नेपालमा कामलाई हेर्ने दृष्टिकोण चाहिँ परिवर्तन गर्न आवश्यक छ। जस्तो यहाँ पनि हामीलाई हेर्दै कतिपय मान्छेहरु हाँस्दै हिँड्छन्। त्यो नराम्रो कुरा हो।
बेराजगार भएर बस्नुभएका दाजुभाइ तथा दिदीबहिनीहरुलाई यस्तै केही न केही व्यापार, व्यवसाय गर्नुस। लगानी नभए कम लगानीमा शुरु गर्न सकिने व्यवसायहरु धेरै छन्, तीमध्ये नै आफूलाई ईच्छा लागेको क्षेत्रमा काम गर्नुस् भन्न चाहन्छु।



लाेकपाटी न्यूज

