काठमाडौं,१५ चैत । विदेशी लगाउन भित्र्याउन सरकारले आयोजना गरेको लगानी सम्मेलन आजदेखि सुरू हुँदैछ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उदघाटन गर्ने कार्यक्रम छ।
काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहबीच लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सम्मेलन उदघाटन गर्न लागेका हुन्। बोर्डको अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले नै उद्घाटन शत्रको सभापतित्व ग्रहण गर्नेछन्।
सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु गरी १ हजार जनाको हाराहारीमा सहभागी हुने कार्यक्रम रहेको छ। विभिन्न ४० देशहरुबाट मात्रै ६ सयभन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागीता हुँदैछ। सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरिँदैछ।
उद्घाटन शत्र पछि हुने विषयगत शत्रहरुमा ती परियोजनाहरुमा लगानीका विषयमा छलफल हुने बोर्डले जनाएको छ।सम्मेलनको उद्घाटन शत्रमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. युवराज खतिवडाले मन्तव्य राख्नेछन्।
बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री खतिवडाका साथै अर्को आकर्षक व्यक्तिको रुपमा उद्घाटन शत्रमा म्यानमारका मन्त्री रहेका छन्।म्यानमारका यूनियन मन्त्री उ ताउन टूनले सम्मेलनको उद्घाटन शत्रमा सम्बोधन गर्नेछन्।
विश्व बैंकका उपाध्यक्ष हार्ट्विग सेफर, एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, मेनहार्ड ग्रपका कार्यकारी अध्यक्ष शाहाद नासिम र दी मुथहोट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथहोटले पनि उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन्।
सम्मेलनको उद्घाटन शत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी समेतले बोल्ने कार्यक्रम रहेको छ।



लाेकपाटी न्यूज

