काठमाडौं, १५ चैत। नेपाल कम्युनिस्ट पार्टीका महसचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीका नेता खड्कबहादुर विश्वकर्मालाई कार्वाही गरिएको भन्दै विभिन्न सञ्चार माध्यममा आएको समाचारको खण्डन गरेका छन्।
विप्लवले बिहीबार एक विज्ञप्ति जारी गर्दै केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट हाम्रो पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले सम्प्रेशित भइराखेकाप्रति आपत्ति जनाएका हुन्।
नेपाली मिडियामा पार्टी प्रवक्ता प्रकाण्ड निलम्बनमा परेको भन्ने समाचार प्रकाशित भएको थियो। प्रकाण्डबारे लगातार समाचार आएपछि विज्ञप्ति जारी गर्दै पार्टीविरुद्ध कपोलकल्पित समाचार प्रकाशन गरिनु पत्रकारिता नभएको बताएका हुन्।
४९ दिनपछि सर्वोच्चको आदेशमा रिहा भएका प्रकाण्डका गतिविधि शंकास्पद रहेको पाइएपछि नेकपाले उनलाई प्रवक्ताबाट निलम्बन परेको खबर बाहिरिएको थियो। तर, नेकपाले उक्त समाचार झुटो र पूर्वाग्रही भएको स्पष्ट गरेको छ।
उक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा भएका सबै परिवर्तनकामी आन्दोलनहरुको बैठान गलत तरिकाले हुन गई देश र नेताले अहिलेसम्म धोका पाइरहेको परिप्रेक्ष्यमा हाम्रो पार्टीले यी सबैखाले धोकाधडी, षड्यन्त्रहरुलाई चिर्दै जनतामा झाँगिएको अविश्वासलाई विश्वासमा, निराशालाई आशामा बदल्दै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई नै पूनर्गठित गर्दै अघि हिडिरहेको पार्टी जसले राष्ट्रियता र जनजीविकाका सवालहरुलाई सशक्त रुपमा उठाइरहेको छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त पार्टीकाविरुद्ध हुँदै नभएका कपोकल्पित समाचार सम्प्रेषण गर्नु वास्तवमा पत्रकारिता हुँदैन। भ्रमात्मक र असत्य समाचारहरु जनता र राष्ट्रका लागि घातक हुन जान्छ। तसर्थ हाम्रो पार्टीका बारेमा बिना तथ्य, अनावश्यक, असत्य र भ्रामक समाचार सिर्जना गरी सम्प्रेषण नगर्न अपील गर्दछौं।’



लाेकपाटी न्यूज

