काठमाडौं। गत साता पक्राउ परेका विप्लव नेतृत्वको नेकपा नेता हेमन्तप्रकाश ओली (सुदर्शन) पाँच रोगका बिरामी भएको उनकी पत्नीले बताएकी छन्।
पतिको स्वास्थ्य समस्याबारे चिन्ता व्यक्त गर्दै पन्ति अम्बिका चन्दले भनेकी छिन्, ‘सुगर, प्रेसर, युरिक एसिड, क्लोस्टोरल र प्रोस्टेडका औषधि खाइरहनुभएको थियो।’ उनले ओलीको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेकी हुन्।
चन्दका अनुसार ओलीले सुगरको आठ वर्षदेखि र प्रेसरको १२ वर्षदेखि नियमित औषधि खाइरहेका थिए। ओलीले युरिक एसिड, क्लोस्टोरल र प्रोस्टेडको डेढ वर्षदेखि औषधि खाइरहेका थिए।
‘उहाँले कुन औषधिपछि कुन खाने भन्ने कुरा नै बिर्सनुहुन्छ, मैले नै सम्झाउँथेँ,’ उनले भनिन्, ‘पक्राउपछि के हुने हो चिन्ता लागिरहेको छ।’ ओली जनयुद्धका क्रममा पनि ४ वर्ष जेल बसिसकेका छन्।
पढ्न, लेख्न र एकान्तमा बसेर काम गर्न रुचाउने स्वाभावका ओलीले खानपिनमा खास ख्याल गर्दैनन्। त्यसैकारण पनि उनको स्वास्थ्यमा समस्या रहेको बताइन्छ। ओली विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य र मध्यकमाण्ड ईञ्चार्ज हुन्।



लाेकपाटी न्यूज

