जनकपुर, १४ चैत । पाँच जनाको ज्यान जानेगरी जनकपुरमा भएका बम काण्डमा तत्कालिन सांसदसहित सात जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । ६ वर्ष अगाडिको उक्त काण्डमा दोषी ठहर गर्दै तत्कालीन सांसद एवं पूर्व राज्यमन्त्री सञ्जयकुमार शाह (टक्ला)लाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको हो ।
धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए। जन्मकैदको सजाय पाउनेमा सञ्जय शाहसहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा रहेका छन् ।
वि.सं २०६९ साल वैशाख १८ गते भएको विस्फोटमा ५ जनाको ज्यान गएको थियो । विस्फोटमा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो । पूर्व राज्यमन्त्री शाह २०६४ सालको चुनावमा तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट धनुषा–४ तथा दोस्रो संविधानसभा चुनावमा सद्भावनाका तर्फबाट धनुषा–३ बाट विजयी भएका थिए ।
विजयकुमार गच्छदार भौतिक योजना मन्त्री रहेको समयमा उनी राज्यमन्त्री बनेका थिए ।



लाेकपाटी न्यूज

