‘मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ’ : रामचन्द्र पौडेल

Ramchandra-Poudel
लाेकपाटी न्यूज

जनकपुरधाम, १४ चैत । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो रहेको बताएका छन्।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी रहेको बताए।

वरिष्ठ नेता पौडेलले समृद्धिका लागि नेपालका सम्पदालाई साझा रूपमा प्रयोग गर्ने पद्धति बसालेमा नेपाली जनजीवन छिमेकी राष्ट्र चीन र भारतभन्दा पनि धनी र सुन्दर हुन सक्ने औंल्याए।

उनले मधेशवादी दलहरूले संविधान संशोधन गर्न नचाहने सरकारलाई समर्थन गरी मधेशी जनतालाई भ्रममा पार्ने कार्य गरेको चर्चा गर्दै काङ्ग्रेसले संविधानमा भएको त्रुटिलाई सच्याउन चाहेको बताए।

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र अख्तियारलाई पनि आफ्नो इशाराबाट निर्दिष्ट गरेको आरोप लगाउँदै वाइडवडी प्रकरणमा अदालत र अख्तियारको मौनताले अराजकता मौलाउँदै गएको स्पष्ट पारे।

अख्तियारले ठूला काण्डलाई संरक्षण दिई स–साना काण्डमा मात्र केन्द्रित रहेको आरोप पनि उनले लगाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्