एसइई प्रश्नपत्र धमाधम आउट

questionpaper
लाेकपाटी न्यूज

सप्तरी, १४ चैत । सप्तरीमा सञ्चालित एसइई परीक्षाको बिहिबार प्रश्नपत्र आउट भएको छ । बिहीबार भएको विज्ञान विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुपूर्व नै आउट भएको हो ।

सप्तरीमा सञ्चालित एसइई परीक्षा अमर्यादित रुपमा सञ्चालन भइरहेको पाइएको हो । परीक्षा सुरु हुने समय बिहान ८ बजेका लागि निर्धारण गरिए पनि ७ ४७ मिनेटमै प्रश्नपत्र बाहिरिएको छ । प्रश्नपत्र समाजिक सञ्जाल ‘फेसबुक’मा समेत पोष्ट भएका छन्। परीक्षा सुरु हुनुपूर्व नै प्रश्न पत्र बाहिरिएको विषय सत्य भएको सप्तरीका सिडिओ तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले बताए ।

प्रश्नपत्र कसरी आउट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको पौडेलले जानकारी दिए । यसअघि बुधबार साँझ पनि विज्ञान विषयको प्रश्न पत्र आउट भएको हल्ला चलेको थियो । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्चालनमा प्रश्न पत्र पोष्ट भएका थिए । तर, साँझ आउट भएको भनिएको प्रश्न पत्र नक्कली भएको सिडिओ पौडेलको दाबी छ ।

अर्कोतर्फ केन्द्राध्यक्ष, निरीक्षक र कर्मचारीसमेत परीक्षा अमर्यादित बनाउन लागि परेको बताइएको छ । बुधबार मात्रै मावि बनरझुलाका केन्द्राध्यक्ष रामअवतार गुप्ता, सहायक केन्द्राध्यक्ष र निरीक्षकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चिट चोर्न सहयोग गरिरहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको सप्तरीका एसपी राजेन्द्र विष्टले बताए । परीक्षा केन्द्रबाट ८ जना परीक्षार्थी र १ दर्जन बढी मोबाइलसमेत नियन्त्रण गरिएको थियो । विद्यार्थीलाई बुधबारै छोडिएको छ । बिहीबार मात्रै २ परीक्षार्थी र १० मोबाइल नियन्त्रण गरिएको छ ।

यस्तै बिहीबार विज्ञान विषयको परीक्षामा मोबाइल मार्फत चिट चोर्दै गरेका दुई जना परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न परीक्षाकेन्द्र मार्फत १० थान मोबाइल समेत नियन्त्रणमा लिइएको एसपी विष्टले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्