स्याङजा, १२ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाललाई विदेशी युवाहरूको आकर्षणको थलो बनाउनुपर्ने बताएकी छन् ।
आँधीखोला गाउँपालिका वडा नम्बर २ र ४ को संगमस्थल स्याङ्जामा निर्मित अन्धाअन्धी मोटरेवल पुलको आज उद्घाटन गर्दै मन्त्री अर्यालले नेपाली युवालाई विदेशमा पठाउने नभएर विदेशी युवाको आकर्षणको रुपमा नेपाललाई विकास गर्नुपर्ने बताएकी हुन्।
नेपाल थुप्रै सम्भावनाहरू भएको मुलुक भएको भन्दै मन्त्री अर्यालले अब ती योजनाहरूलाई उत्पादनमा जोड्दै आयआर्जन गर्ने कार्यमा लाग्नुपर्ने बताइन् । उनले यहीं भएका सम्भावनाहरूलाई योजनाबद्ध रूपमा सदुपयोग गरेर विदेश निर्यात भइरहेका नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी पाउने कार्यको थालनी गर्नुपर्नेमा जोड दिइन् । उनले नेपाल श्रमशक्ति निर्यात नभएर विदेशी श्रमशक्ति आकर्षित गर्ने देश बन्ने मुलुकका रूपमा विकास गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘हामीसँग थुप्रै सम्भावनाहरू छन्, कृषिको सम्भावना छ, पर्यटनको सम्भावना छ, जलस्रोतको सम्भावना छ। तिनै सम्भावनामाथि टेकेर अब नेपाली युवाहरूको आकर्षण विदेश होइन, विदेशी युवाहरूको आकर्षण नेपाल बनाउनुपर्छ। नेपाल सरकारको सोच हो यो, यही स्प्रिटका साथ हामी अगाडी बढेका छौं।’
नेपाललाई स्वीजरल्याण्ड बनाउँछौं भनेर भाषण गरेर मात्र नहुने भन्दै उनले योजनाबद्ध रूपमा विकासका कामहरू अगाडी बढाउनुपर्ने औंल्याइन्।े ‘हामीसँग धेरै सम्भावनाहरू छन्। अब योजना बनाएर अगाडी बढ्नुपर्छ, उनले भनिन् ।
कृषिप्रधान देशका जनता अब पनि भोकभोकै मर्ने अवस्था रहिरहन दिन नहुने भन्दै मन्त्री अर्यालले त्यसका निम्ति योजनाबद्ध विकासका कार्यक्रमहरू ल्याउनुपर्ने बताइन् । उनले थपिन्, ‘भन्दाखेरि कृषिप्रधान मुलुक । तर, जनताले खान नपाएर भ्याकुर खानुपर्ने, कन्दमूल खोज्नुपर्ने अनि कृषिप्रधान मुलुकका हामी नागरिक भनेर भन्नुपर्ने ? संसारको दोस्रो जलस्रोतको धनी मुलुक। तर, जनता पानी खान नपाएर काकाकुल हुनुपर्ने ?’
उपलब्ध कृषियोग्य जमिनको सदुपयोग गरेर मुलुकभित्रै रोजगारी सिर्जना गर्ने कार्यमा हरेक नागरिक लाग्नुपर्ने अर्यालको भनाइ थियो ।
विगतमा पनि गाउँठाउँको विकासको शुरूआत कम्युनिष्ट सरकारले नै कोरेको भन्दै मन्त्री अर्यालले अब समृद्धिको खाका कसरी कोर्न सकिन्छ, मुलुकको समृद्धि कसरी गर्ने भनेर यो पाँच वर्षमा गरेर देखाउने दाबी गरिन्। भर्खरै एक वर्ष बितेको भन्दै उनले पाँच वर्षको बीचमा यो सरकारले वास्तविक रूपमा विकास गरेर देखाउने दाबी गरिन्।
यसैबीच आँधीखोला गाउँपालिका वडा नम्बर ५ र २ जोड्ने भैरबकुण्ड मोटरेवल पुलको शिलान्यास गर्दै मन्त्री अर्यालले सरकारले हरेक घरमा एकजना भएपनि मान्छे रोजगार होस् भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरेको बताइन्। उनले कसलाई कसरी कहाँ जागिर खुवाउन सकिन्छ भनेर सरकारले खोजी गरिरहेको समेत जानकारी दिइन्।
अर्को प्रसङ्गमा मन्त्री अर्यालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत २६ जिल्लामा गरिब पहिचान भइसकेको र ५१ जिल्लामा गरिब पहिचान कार्यक्रम सञ्चालन गर्न ४ हजार मान्छे आवश्यक भएको बताइन्। उनले भनिन्, ‘५१ जिल्लामा गरिब पहिचान गर्न प्रत्येक वडामा एकजना गणक र १० जना गणक बराबर १ जना सुपरभाइजर हुनेगरी चार हजार मान्छे आवश्यक पर्छ। आगामी असारभित्रमा बाँकी ५१ जिल्लामा पनि गरिब पहिचान गर्नेगरी हामीले तयारी गरिरहेका छांै ।’ गरिब पहिचान गरेर गरिब लक्षित योजनाका साथ आफू अगाडी बढेको मन्त्री अर्यालले बताइन्।
स्याङ्जाकै आँधीखोला गाउँपालिका ५ रंगेठाटीस्थित प्रद्युम्न मा.विको स्वर्ण महोत्सव उद्घाटन गर्दै मन्त्री अर्यालले मुलुकको विकासका निम्ति प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताइन्। मुलुकको सम्भावनाहरूको एकिकृत विकासका निम्ति पनि प्राविधिक जनशक्तिको आवश्यकता रहेको भन्दै उनले त्यसका लागि सरकारले प्राविधिक शिक्षामा जोड दिएको बताइन्।
मन्त्री अर्यालले सरकारले अबको पाँच वर्षमा काम गरेर देखाउने भन्दै ढुक्क रहन जनताहरूलाई आग्रहसमेत गरेकी छन्। ‘सरकारले काम गरिरहेको छ। तपाइहरू ढुक्क हुनुस् । यहाँका स्थानीय सरकार, प्रदेश सरकार पनि छ । उहाँहरूसँग पनि समन्वय गर्नुस् । केन्द्रले गर्ने काम केन्द्रले पनि गर्छ’, मन्त्री अर्यालले भनिन्। निर्वाचनमा जाँदा घोषणापत्रमा वृद्धभत्ता ५ हजार बढाउने भनेको प्रतिबद्धता पाँच वर्षभित्र पूरा गर्ने मन्त्री अर्यालले बताइन्।



लाेकपाटी न्यूज

