दाङ, १२ चैत । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति फेर्नुपर्ने माग गरेका छन। पछिल्लो समय सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर पार्टीभित्रै चर्को आलोचना भैरहेको र पदाधिकारीबीचमा नै आवाज उठेको बताउँदै महामन्त्री कोइरालाले आगामी महाधिवेशनबाट देउवालाई सभापतिबाट बिदाइ गर्नुपर्ने माग गरेका छन्।
दाङमा आज भएको एक कार्यक्रममा महामन्त्री कोइरालाले पार्टी सभापति देउवातर्फ इंगित गर्दै अब पार्टीको सभापति फेरिनुपर्ने बताएका हुन्। कांग्रेसभित्र परिवर्तन जरुरी भइसकेको भन्दै यसलाई कसैले पनि छेक्न नसक्ने उनको भनाइ छ।
महामन्त्री कोइरालाले कांग्रेस भित्र परिवर्तन आएको अनुभूति नभए पार्टीले गति लिन नसक्ने ठोकुवा समेत गरेका छन्। उनले भने, ‘अब सभापति परिवर्तन गर्नुपर्ने कुरा रहेको छ । सबैको राय, सल्लाह, सुझाब पनि त्यही छ, मैले पनि त्यही आवश्यकता देखिरहेको छु ।’
फरक प्रसङ्गमा उनले नेपाल हिन्दु राष्ट्र नभई धार्मिक स्वतन्त्रता भएको देश बन्नुपर्ने बताए । हिन्दु राष्ट्र भए पनि आफूलाई आपत्ति नरहेको र धर्म निरपेक्षता कांग्रेसले स्वीकार नगर्ने बताउँदै उनले यसमा जनमत संग्रह गर्नुपर्ने बताएका छन्।



लाेकपाटी न्यूज

