काठमाडौं। पत्रकार ऋषि धमला र उनकी धर्मपत्नी नायिका एलिजा गौतमले चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि तीन लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।
सोमबार काठमाडौंमा रहेको ‘धुर्मुश–सुन्तली’ फाउण्डेशनको कार्यालयमै पुगेर धमला दम्पत्तिले उक्त रकम हस्तान्तरण गरेका हुन्। नायिका गौतमको जन्मोत्सवको अवसर पारेर उक्त रकम सहयोग गरिएको पत्रकार ऋषि धमलाले जानकारी दिए।
धमलाले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम हामीलाई चाहिएको छ। यो आवश्यकताको विषय हो। चितवनमा धुर्मुश–सुन्तलीले जुन किसिमको साहस देखाएर निर्माण कार्यमा जुट्नुभएको छ। यो गौरवको विषय हो। यो आफैमा पुण्य काम हो। हामी सबै नेपालीहरुले दिल खोलेर सहयोगी हातहरु अघि बढाउनुपर्छ। यो राष्ट्रको गौरवको विषय हो।’
धुर्मुश–सुन्तलीले पत्रकार धमला दम्पत्तिको सहयोगले आफूहरुलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिए। सिताराम कट्टेल ‘धुर्मुश’ले भने, ‘पत्रकारिता जगतबाट यसरी सहयोग गर्न कोही पनि आउनुभएको थिएन। ऋषिजी पहिलोपटक आउनुभयो। उहाँको सहयोगलाई हामीले सिँगो पत्रकारिता जगतको सहयोगको प्रतिनिधित्वको रुपमा लिएका छौं। हामी निकै खुशी छौं।’
त्यस्तै, नायिका गौतमले पनि आफू धुर्मुश–सुन्तलीको कामबाट धेरै पहिलेदेखि नै प्रभावित बन्दै आएकाले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरिन् गर्दै भनिन्, ‘जन्मोत्सवमा फजुल खर्च गर्नुको साटो सहयोग गर्नु राम्रो हो, यो परियोजना हामी सबै नेपालीहरुको गौरवको विषय हो। सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौं।’



लाेकपाटी न्यूज

