के दिए हेमन्तप्रकाश ओलीले बयान ?

hemanta-prakash-oli
लाेकपाटी न्यूज

ललितपुर, ११ चैत। विद्रोही नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली सहित नौ जनालाई अनुसन्धानका लागि भन्दै म्याद थप गर्न आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित गरायो।

उपस्थित गराउने क्रममा उनले आफूहरुलाई प्रहरीले शुक्रबार बिहान ४ बजे गिरफ्तार गरेको तर मुचुल्कामा दिउँसो १२ बजे पक्राउ गरेका भनेर तयार पारेको बताए। साथै उनले आफूहरुलाई गिरफ्तार गरेको केहीबेरमै आँखामा कालोपट्टी बाँधेर अपराधीझैं व्यवहार गरेको र पट्टी बाँधिएकै अवस्थामा अज्ञात ठाउँमा राखेर हत्कडी लगाएको हात समातेर औंठाछाप लगाएकाे बयानमा बताए।

आफूहरुलाई गिरफ्तार गर्दा विभिन्न सामान बरामद भएको भनी मुचुल्कामा उल्लेख गरिएका सामान विवरण सबै झुठा भएको निवेदन समेत ओलीलगायत उपस्थित अभियुक्तहरुले गरेका थिए। गिरफ्तार गरेदेखि नै आफूहरुलाई अज्ञात स्थलमा दिनरात घुमाएको, शारीरिक र चरम मानसिक यातना दिएको उनले दावी गरेका छन्।

राजनीतिक कामकै सिलसिलामा रहेका बेला अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेको भन्दै ने.क.पा.का नेता कार्यकर्तासँग राजनीतिक व्यवहार गर्न समेत उनीहरुले आग्रह गरेका थिए। ओलीसहित ने.क.पा.का नौजना नेताहरुलाई शुक्रबार बिहान ४ बजे काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाबाट गिरफ्तार गरिएको थियो।

संगठित अपराध अभियोगमा अनुसन्धान गर्न भन्दै प्रहरीले म्याद थपका लागि ओलीका साथ पूर्वी ताम्सालिङ ईन्चार्ज विजय श्रेष्ठ, रौतहट इञ्चार्ज शंकर अधिकारी साथै अन्य नेताहरु रामकृष्ण खतिवडा, लोकेन्द्र खड्का, ललित तामाङ, देव घिमिरे, धर्मराज राजवाहक र सञ्जिव घिमिरेलाई अदालतमा उपस्थित गराएको थियो।

सबैलाई ललितपुर जिल्ला प्रहरीको हिरासतमा राखिएको छ। यता विप्लव नेकपाले गिरफ्तारीकाे विराेधमा चैत १६ गते नेपाल बन्दकाे घाेषणा गरेकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्