कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी खानेपानी मन्त्री बिना मगरले लगाएको पहिरन देख्दा धेरै जना छ्क्क परे।
खानेपानी मन्त्रीको यो पहिरनमा राना थारुहरुको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो। अल्पसंख्यक राना थारू समुदायको कला संस्कृति र भेषभूषाको जगेर्ना गर्न आफूले पहिरन लगाएको बताइन्। देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला, संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियोे।
हाेली मिलन समारोहमा सहभागी भएपछि मन्त्री मगरले राना थारु होमस्टे र उद्यानको शिलान्याससमेत गरिन्। कला संस्कृतिको मात्रै जगेर्ना नभई होमस्टेबाट स्थानीय समुदायको आय आर्जन पनि वृद्धि हुने मन्त्री मगरको भनाइ छ।
मन्त्री मगरले कञ्चनपुर जिल्लाको हरेक क्षेत्रको विकास निर्माणमा आफू लागिरहेको बताइन्। बाटो घाटो, पुल पुलेसादेखि खानेपानी लगायत पूर्वाधार संरचनाको हरेक क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेकोे उनले स्पष्ट पारिन्।



लाेकपाटी न्यूज

