काठमाडौं, ११ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंह श्रेष्ठले कांग्रेसले समयअनुसार चल्न नसक्दा कांग्रस सङ्कटमा परेको बताएका छन् ।
सोमबार इलाममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता श्रेष्ठले नेतृत्वको कार्यशैली सन्तोषजनक नरहेको जनाए । उनले देशको भरोसाको रूपमा स्थापित हुनुपर्ने कांग्रेस पार्टी कम्जोर रूपमा प्रस्तुत भएको स्विाकार समेत गरेका छन् । सरकार निरंकुश शैलीमा अघि बढ्दै गएको अवस्थामा कांग्रेसले आफूलाई सुधारेर यस्ता गतिविधिको प्रतिवाद गर्नुपर्नेमा त्यस्तोे हुन नसकेको उनको भनाइ थियो ।
‘दुई तिहाइको दम्भमा नेपाल कप्युनिष्ट पार्टीले प्रधानमन्त्रीलाई संविधान विपरित शक्तिशाली बनाउँदै लगेको छ,’ उनले भने, ‘यसले निरंकुशतातर्फ सरकार र नेकपा ढल्कँदै गएको प्रस्ट हुन्छ ।’ पार्टीलाई जिवन्त र व्यवस्थित बनाउँदै युवा पुस्तालाई अवसर दिएर मुलुक निर्माणमा अघि बढाउनुपर्नेमा उनले जोड दिए । हरेक ठूला परिवर्तनमा नेपाली कांग्रेसले नेतृत्व गरेको स्मरण गराउँदै उनले अब समृद्धि र आर्थिक उन्नतिको नेतृत्वका लागि पनि तयार हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य हृदयराम थामीले नेतृत्वको रोग कार्यकर्तासम्म पुग्दा पछिल्लो समय पार्टीले हार व्यहोरेको बताए । निरूत्साहित हुने अवस्था नभए पनि कमजोरीलाई सच्याएर संगठन सुदृढिकरणमा लाग्नुको विकल्प नरहेको उनको भनाइ छ । अर्का केन्द्रीय सदस्य सरिता प्रसार्इंले सरकारका काम कारवाहीले हरेक कार्यकर्ता दबाबमा परेको भन्दै उनीहरूलाई उत्साह प्रदान गर्न पार्टीले ठोस पहल गर्नुपर्ने धारणा राखिन् ।
कार्यक्रममा इलाम कांग्रेसका सभापति हिमालय कर्मचार्य, पाँचथर कांग्रेस सभापति नरेन्द्र केरूङ, काठमाडौं सभापति सबुझ कृष्ण बानियाँ लगायतले मन्तव्य राखेका थिए ।



लाेकपाटी न्यूज

