चैतभित्रै विप्लवका गतिविधि नियन्त्रण गर्छाैं : प्रधानमन्त्री

kp oli
लाेकपाटी न्यूज

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिना भित्र नेत्रविक्रम चन्द विप्लव नेकपाका अतिवादी विध्वंसात्मक गतिविधिलाई नियन्त्रणमा लिने बताएका छन् ।

ओलीले विप्लव नेतृत्वको नेकपाका गतिविधि चैत महिनाभित्रै नियन्त्रण गरिसक्ने दावी गरेका हुन्। सोमबार नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियार बुझाएर वार्तामा आउन विप्लवलाई आग्रह समेत गरेका छन् ।

उनले वार्तामा आउनका लागि सरकारले ढोका खुल्लै राखेको बताए । उनले भने, ‘चैतभित्र हतियार बुझाएर वार्तामा आउनु पर्यो, वार्तामा नआए सरकारले नियन्त्रणमा लिन्छ ।’ विप्लव समूहले नेकपाको झण्डाको दुरुपयोग गरेको, जबर्जस्ती चन्दा उठाएको र विस्फोट गराएर जनताको हत्या समेत गरेकाले नियन्त्रणमा लिन परेको प्रधानमन्त्रीको भनाइ थियो। ‘विकास निर्माणमा अवरोध, शिक्षा स्वास्थ्यमा अवरोध गर्ने, चन्दा माग्ने, मान्छे मार्ने अनि हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ’, प्रधानमन्त्रीले भने ।

यस्तै प्रधानमन्त्री ओलीले सांसदहरुलाई जनताका जान र जनताको कुरा सुन्न निर्देशन दिएका छन् । हिउँदे अधिवेशन सकिएकाले काठमाडौं छाडेर निर्वाचन क्षेत्रमा जान उनले निर्देशन दिएका हुन्।जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न प्रधानमन्त्री ओलीले सांसदलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिएका छन्।

सरकारले गरेका कामहरुको प्रचार गर्नुहोस। जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ। त्यसको खण्डन गर्नुहोस्’, प्रधानमन्त्रीले भने, ‘जनताका कुरा सुन्नुहोस्। आगामी वर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्