चितवन, ११ चैत । भरतपुर महानगरपालिकाकी प्रमूख रेनु दाहालले निर्माण सामग्रीको गुणस्तरीयताका लागि भरतपुर महानगरपालिकामा निर्माण सामग्री प्रयोगशाला बनाए)को बताएकी छन् । महानगरमा निर्माण गरिएको उक्त निर्माण सामग्री प्रयोगशाला (ल्याब)को आज उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।
विकास निर्माणका कामहरुलाई प्रभावकारी, गुणस्तरीय र दिगो बनाउनका लागि निर्माण सामग्रीहरुको गुणस्तर परीक्षणका लागि आफ्नै प्रयोगशाला निर्माण गरेको प्रमूख दाहालले बताइन् । विकास र गुणस्तरलाई सँगसँगै लैजान चाहेको बताउँदै प्रमूख दाहालले भरतपुर महानगरपालिकाको प्राथमिकता निर्माणमात्र नभई गुणस्तर कायम गर्नु पनि भएको बताएकी छन् । यस प्रयोगशालाबाट प्रवाह हुने सेवाको भरपुर उपयोग गर्न महानगरवासीलाई उनले आग्रह गरिन् ।
उनले तोकिएको मापदण्डभित्र रहेर गुणस्तर परीक्षण नगरी निर्माण गर्ने निर्माण व्यावसायी, प्राविधिक कर्मचारी तथा जनप्रतिनिधिलाई समेत नछाडिने चेतावनी दिइन् । भरतपुर महानगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको बताउँदै उनले तोकिएको काम नगर्नेहरूलाई कारबाहीको प्रकृया अगाडि बढाइएको बताइन् । गुणस्तर कायम गर्नका लागि प्रयोगशाला स्थापना गरिएको महानगर प्रमूख दाहालको भनाइ छ ।
भरतपुर महानगरपालिका उपप्रमूख पार्वती शाह ठकुरीले गुणस्तर परीक्षण प्रयोगशाला भरतपुर महानगरपालिकाको पूर्वाधार विकासमा गुणस्तर कायम गर्न सहयोगी हुने विश्वास व्यक्त गरिन् । उनले आफू अनुगमन समितिको संयोजकसमेत भएको बताउँदै प्रयोगशालाबाट सम्पूर्ण नगरवासीहरुले लाभ लिन सक्ने बताइन् । विकास निर्माणको गुणस्तर वृद्धिमा आम जनसमुदायको निगरानी र खबरदारी रहनुपर्ने उनको भनाइ छ ।
भरतपुर महानगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी (प्रयास) ले सञ्चालित प्रयोगशालालाई चाहिने आवश्यक औजार उपकरणहरु थप्दै व्यवस्थित बनाउँदै लगिने बताए । उनले प्रयोगशालाको सञ्चालनले महानगरपालिकाको विकास निर्माण गुणस्तरीय हुने विश्वास व्यक्त गरे ।
भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष अरुण पीडित भण्डारीले जसरी मानिस, पशु आदिको स्वास्थ्य परीक्षण गरिन्छ, त्यसरी नै विकास निर्माणको पनि नियमित परीक्षण गर्नुपर्ने बताउँदै त्यसैका लागि प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए । वडा नम्बर ८ का अध्यक्ष तथा पूर्वाधार विकास समितिका संयोजक दामोदर न्यौपानेले प्रयोगशाला सञ्चालनले विकास निर्माणमा थप गुणस्तर कायम गर्न सकिने बताए ।
भरतपुर महानगरपालिकाका इन्जिनियर तथा ल्याब इन्चार्ज सूर्यप्रकाश लामाले प्रयोगशालाले दिने सेवा सुविधाका बारेमा जानकारी गराउनु भएको थियो । यस प्रयोगशालामा निर्माण सामग्रीहरु रड, सिमेन्ट, गिटी, बालुवा, बिटुमिन, रंग तथा निर्माण भएका भवन, सडक, पुलपुलेसा तथा अन्य संरचनाहरुको गुणस्तर परीक्षण गरिने उनले बताए ।
इन्जिनियर लामाले आउँदा दिनहरूमा यो प्रयोगशाला स्थापनासँगै निर्माण कार्य अझै गुणस्तरीय हुने विश्वास व्यक्त गरे । महानगरपालिकाका विकास निर्माणका अलबा नगरवासीहरूले आफ्ना निर्माण सामग्रीहरुको समेत सशुल्क परीक्षण गर्न पाउने उनले जानकारी गराए ।
प्रयोगशालाको सञ्चालनसँगै गुणस्तरहीन निर्माण सामग्रीबाट उपभोक्ता ठगिने क्रम रोकिने विश्वास गरिएको छ । प्रयोगशाला भरतपुर महानगरपालिका वडा नम्बर ५ को साविक १४ नम्बर वडा कार्यालयको भवनमा संचालनमा आएको छ । वडा नम्बर ५ का अध्यक्ष पदमपाणी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महानगरपालिकाका प्राविधिक, राजनितिक दलका स्थानीय प्रतिनिधि, टोल सुधार समिति, आमा समूह लगायत स्थानीयको सहभागिता रहेको थियो ।



लाेकपाटी न्यूज

