एजेन्सी । रुसको सैन्य विमान सैयौं सेना र ठूलो मात्रामा हतियारसहित भेनेजुएला प्रवेश गरेको छ । दक्षिण अमेरिकी मूलुक भेनेजुएला संकटको अवस्थामा गुज्रिरहेको छ ।
संकटकै अवस्थामा राष्ट्रपति निकोलास मादुरोको पक्षमा रहेको रुसको सैन्य विमान भेनेजुएला प्रवेश गरेको हो । शनिबार देशकै मुख्य मानिएको विमानस्थल कराकसमा रुसी विमान अवतरण गरेको बीबीसीले जनाएको छ । रुसको स्पुतनिक समाचार संस्थाका अनुसार दुई देशबीचको प्राविधिक सैन्य सहमतिलाई पूर्णता दिन भेनेजुएलामा सेना पठाएको हो । रुस र भेनेजुएलाका सेनाले तीन महिना अगाडिमात्र संयुक्त सैन्य अभ्यास गरेका थिए ।
गत जनवरीमा विपक्षी दलका प्रमुख नेता हुवाँ गोइदोले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा संकट बढेको हो । गोइदोले राष्ट्रपति निकोलास मादुरोले गतवर्षको राष्ट्रपतिय निर्वाचनमा धाधली गरेका कारण आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेर देशमा अर्को निर्वाचन आयोजना गर्ने अधिकार भएको बताएका थिए ।
गोइदोलाई युरोपेली मूलुक र अमेरिकाले समर्थन गरेका छन्। तर रुसले सुरुवात देखि नै निकोलास मादुरोको समर्थन गर्दै आएको छ । संकटकैबीचमा स्वघोषित अन्तरिम राष्ट्रपति गोइदोले अमेरिकालाई मानविय सहायताको प्रस्ताव गरेपछि अमेरिकी विमानहरु सिधै भेनेजुएला आउने तरखरमा थिए ।
तर, मादुरोको चेतावनी पश्चात अमेरिकी विमानहरु छिमेकी राष्ट्रमा अवतरण गरेको थियो । यतिबेला रुसको विमान भने सिधै भेनेजुएलामा अवतरण गरेको छ । यसले अमेरिकालाई झड्का लाग्ने बुझिएको छ । राष्ट्रपति मादुरोले हुवाँ गोइदोलाई उचालेर अमेरिकाले भेनेजुएलामा कुको प्रयास गरेको आरोप लगाउँदै आएका छन् ।



लाेकपाटी न्यूज

