काठमाडौं, ११ चैत । सोमबार र मंगलबार देशका धेरैजसो ठाउँमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले देशको पश्चिमी भागबाट पश्चिमी वायु प्रवेश गरेकाले वर्षा हुने बताएकी हुन् । उनले भनिन् ‘उक्त वायु सुर्खेत र दाङलगायत आसपासका क्षेत्रमा आइसकेको छ । बेलुकीसम्म यो मध्य र पूर्वी क्षेत्रका पहाडी भूभागमा आइपुग्नेछ, जसले मेघ गर्जनसहित वर्षा गराउनेछ ।’
उनका अनुसार पश्चिमी क्षेत्रका केही स्थानमा दिउँसो तथा बेलुकी मध्य र पूर्वी क्षेत्रका पहाडी भूभागमा मेघ गर्जनसहित पानी पर्नेछ। तराई क्षेत्रमा भने आज पानी पर्ने छैन । तर घाम भने राम्रोसँग नलाग्ने उनले बताइन्। पश्चिमी उच्च पहाडी र हिमाली तथा मध्य र पूर्वी उच्च पहाडी र हिमाली भेगमा हल्का देखि मध्यमसम्म हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार पनि देशका अधिकांश स्थानमा सामान्य देखि पूर्ण बदली भइ पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना छ ।
‘मौसम बुधबार मात्र खुल्ने देखिएको छ,’ मौसमविद् नगरकोटीले भनिन्,‘पर्सि पनि पूर्वी क्षेत्रमा भने हल्का वर्षा हुने सम्भावना छ ।’



लाेकपाटी न्यूज

