काठमाडौं, ११ चैत्र। पाकिस्तानमा होलीको पूर्वसन्ध्यामा २ हिन्दू किशोरीहरुको अपहरणपछि बिवाह र त्यसपछि धर्म परिवर्तन गराएको कुराले यतिबेला इमरान खान सरकार झस्किएको छ।
अपहरण भएको केही समयपछि नै उनीहरुको एक भिडियोसमेत भाइरल बन्यो, जहाँ ती दुई किशोरीले आफ्नै ईच्छाले इस्लाम धर्म अपनाएको बताएका छन्। भिडियो बाहिरिएपछि भारतले समेत पाकिस्तानमा रहेका भारतीय अधिकारीहरुसँग यसबारे जवाफ मागेको छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि यस विषयको छानबिन गर्न एक्सनमा उत्रिएका छन्। उनले जबरजस्ती धर्म परिवर्तन हो वा होइन भन्नेबारे जाँच गर्न आदेश दिएका छन्। खानको कदमको विश्वभरिका हिन्दूहरुले स्वागत गरेका छन्।
यता पाकिस्तानका सूचनामन्त्री फवादले ट्वीट गर्दै लेखेका छन्, ‘प्रधानमन्त्रीले सिंघ प्रान्तमा भएको हिन्दू किशोरीको अपहरण र धर्म परिवर्तन घटनाको जाँच गर्न आदेश दिएका छन्। साथै उनले सिंघ प्रान्त र अपहरण गरी ल्याइएको पञ्जाब प्रान्तमा यस्तो घटना पुन नदोहोरियोस् भनेर ठोस कदम चाल्न पनि निर्देशन दिएका छन्।’
गृह मन्त्रालयले पनि पाकिस्तानमा रहेका ती अपहरित १३ र १५ बर्षका रबीना र रीना नाम गरेकी ती किशोरीहरु आफना नागरिक भएको र तीनको रक्षा गर्ने जिम्मा आफूहरुकै भएको भन्दै छानबिनका लागि सिंघ प्रान्तका प्रहरी प्रशासनलाई कडा निर्देशन दिएको छ।
यता ती किशोरीहरुले मिडियोमा राजीखुसीले इस्लाम स्वीकारेको बताए पनि किशोरीका दाइले भने प्रहरीमा उजुरी गर्दे अपहरणको मुद्धा दायर गरेका छन्, जहाँ उनले केही दिनअघि अपहरणकर्ताहरुले आफनो बुवासँग झगडा गरेकोसमेत उल्लेख गरेका छन्।
यही घटनाको कारण पनि पाकिस्तानमा रहेका हिन्दूहरु सडकमा उत्रिएका छन्। उनीहरुले आफूहरुमाथि भएको विभेद र अत्याचारको अन्त्य गर्न माग गरेका छन्। मुस्लिम देश भएकै कारण पाकिस्तानमा रहेका अल्पसंख्यक हिन्दू धर्मालम्बीमाथि अन्याय हुने गरेको आरोप लाग्दै आएको छ।
हिन्दूलाई पाकिस्तानमा थिचोमिचो हुने गरेको र जबरजस्ती धर्म परिवर्तन गराउन लगाइने गरेकोजस्तो आरोप पाकिस्तानलाई लाग्दै आएको छ। विषेशगरि पाकिस्तानमा रहेका हिन्दूलाई भारत समर्थक भएको भन्दै अन्याय गर्ने गरेको बताइन्छ।
यद्यपि, पाकिस्तानमा बिस्तारै बिस्तारै हिन्दू जनताहरुका लागि पनि अवसर, समान अधिकार लगायतका कुराहरुमा सुधार हुँदै आएका छन्। इमरान खानको सरकारले केही समय अगाडी मात्र हिन्दुहरुको बिरुद्ध बोलेका मन्त्रीलाई समेत निलम्वन गरेको थियो।



लाेकपाटी न्यूज

