सरकार ! ‘विकास होइन, बाँदर नियन्त्रण गरिदेऊ’

monkey
लाेकपाटी न्यूज

खोटाङ, ११ चैत । खोटाङमा बाली भित्र्याउने बेला बाँदरले सत्यानाश पारिदिन थालेपछि किसानहरु दिक्क बनेका छन् । खोटाङको १० वटै स्थानीय तह र नगरपालिकाका १५ वटै वडामा बाँदर आतङ्कका कारण किसानहरू खेतबारी बाँझै राख्न बाध्य भएका छन्।

खेतबारीमा रोपेका आलु, मकै, धान, कोदो, भटमास आदि अन्न बाँदरका कारण जोगाउनै मुस्किल परेपछि उनीहरूले दिक्क भएर खेतबारी बाँझै राख्न थालेका हुन्। यति मात्र हैन सुन्तला, केरा, लिचीजस्ता फलफूल पनि चिचिला लाग्न नपाउँदै बाँदरले खाइदिने र धपाउन खोज्दा उल्टै मानिसलाई झम्टने गरेको किसानहरू बताउँछन्।

उद्धव आचार्य भन्छन्, ‘केही वर्षयता तीन महिना खाने अन्न भित्र्याउन समेत धौधौ परिरहेको छ । मौसमी फलफूल बाँदरलाई मात्र ठिक्क हुन्छ ।’ बाँदरको बिगबिगी यस्तै भइरहे किसानलाई हैरानी मात्र हैन भोकमरीको समस्या समेत निम्तिन सक्ने उनीहरूको डर छ । उनीहरू भन्छन्, खेती लगाएदेखि बाँदरको गोठालो बस्नुपर्छ । महिला र केटाकेटीलाई टेर्दैनन्।

कामका लागि पुरुष घरबाहिर जाँदा आँगनको बिस्कुन जोगाउन समेत कठिनाइ हुन्छ । धपाउँदा उल्टै हुल बाँधेर बाँदरले नै आक्रमण गर्ने भएकाले ढोका थुनेर बस्नुको विकल्प नरहेको तारादेवी आचार्य दुखेसो गर्छिन्। बाँदरको बिजाइँ सहन नसकेर वार्षिक ३० देखि ३२ घरधुरी बसाइँ सरेर अन्यन्त्र जाने गरेको नगरपालिकाको तथ्याङ्कले देखाउँछ । बाँदर आतङ्कका कारण नगरपालिकाभित्रका ३० प्रतिशत जमिन बाँझो रहेको उसको आँकडा छ ।

जतिसुकै मेहनत गरे पनि बाली भित्र्याउने बेला बाँदरले सत्यानाश पारिदिन थालेपछि दिक्क बनेका किसानहरूको गुनासो सम्बोधन गर्न दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन र्गयो । सोही रकमबाट ती कृषक समूहले भारतबाट व्यावसायिक सिकारीको खोजी गरी १० सदस्यीय एक टोलीलाई नगरपालिकामा झिकाए ।

एउटा बाँदर नियन्त्रणमा लिए २५ सय रुपैयाँ दिने सर्तमा उनीहरूबाट बाँदर समात्ने कार्य भइरहेको बाली संरक्षण समूहका सचिव उद्धव आर्चायले बताए । अहिलेसम्म कम्तीमा २८ वटा बाँदर नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएका बाँदरहरूलाई साँघुरो खोरमा राखेर दानापानी दिइरहेको पनि उनले बताए । तर बाँदर धपाउन प्रत्येक घरमा कुकुर पालिएको र ती कुकुरले भुकेर बिच्काइदिने गरेकाले सोचेजति बाँदर समात्न नसकिएको उनीहरूको भनाइ छ ।

सिकारीहरूले एक प्रकारको जाल बिच्छ्याउने र धपाउँदै जालमा पारेर बाँदर नियन्त्रणमा लिने गरेका छन्। नियन्त्रणमा लिइएका बाँदरहरूलाई व्यवस्थापनको लागि पहल भइरहेको नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । ‘विकास हैन, बाँदर नियन्त्रण’चुनाव ताका यही नारा लिएर खोटाङको यस भेगका जनता नेतालाई दबाव दिन्थे । माग पूरा गराउने विश्वास पाए मात्र भोट दिने सर्तमा उनीहरूले जनप्रतिनिधिहरू छानेका थिए ।

अहिले पनि उनीहरू विकास चाहिँदैन, बाटोघाटो पुलपुलेसा केही चाहिँदैन सरकार बाँदर नियन्त्रण गरिदेऊ भन्दै जनप्रतिनिधिहरूलाई ताकेता गर्छन्। जिल्लाभरि नै बाँदर आतङ्क नरोकिएपछि जनताले राखेका माग पूरा गराउन हामी तयार भयौँ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल भन्छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्