काठमाडौं, १० चैत । बीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट भारत विहार मोतिहारी बस्ने ४३ वर्षीय शुभनारायण शाहलाई अवैध लागूऔषध चरेश ४ किलो सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले नेपालबाट भारत रक्सौलतर्फ पैदल जाँदै गरेका शुभनारायणलाई जाँच गर्ने क्रममा साथमा लुकाईछिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ् एरियाबाट १२ लाख ८९ हजार ३ सय २२ रुपैयाँ मूल्य बराबरको २ सय ४९ ग्राम सुनका ५ थान बाला सहित काठमाडौं महानगरपालिका–३१ बस्ने फहिमुदीन मिँयालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा अवैध रुपमा सुन संकलन गरिरहेको अवस्थामा उनलाई उक्त परिमाणको सुनसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
मिँयालाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि बरामद सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
त्यस्तै बैकिङ कसुर मुद्दामा फरार रहेका गेरूवा गाउँपालिका–४ गिदरपुर बस्ने बाँके कोहलपुर नगरपालिका–११ घर भएका २२ वर्षीय मनोज डंगोललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दाको बारदात पश्चात भागी फरार रहेका डंगोललाई खोजी तथा पक्राउ गर्न ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको पत्राचारको आधारमा ईलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट खटिएको प्रहरी टोलीले उनलाई पाताभार नजिक फेला पारी पक्राउ गरेको हो ।
उपर्युक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।



लाेकपाटी न्यूज

