‘सेना परिचालन विधेयक तत्काल संशोधन गर्नुपर्छ’ : पूर्व रक्षामन्त्री प्रधान

Bhemsen-das
लाेकपाटी न्यूज

काठमाडौं, १० चैत्र । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले सेना परिचालनसम्बन्धी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् ।

रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘विधेयकको भाषा हेर्दा प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक बस्न नसक्ने अवस्थामा सेना परिचालन गर्न पाउने गरी ल्याईएको छ । यसलाई सच्याउनुपर्छ । सेना यस्तो संयन्त्र हो, जोसँग हरेक सूचना हुन्छ । त्यसैले सुरक्षा परिषदको बैठक बस्न नसकेको खण्डमा प्रधानमन्त्रीले सेना परिचालन गर्ने भन्ने कुरा नै गलत छ ।’

प्रधानले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गरेर आफूमा शक्ति थोपर्ने काम गरिरहेको टिप्पणी गरे । उनले भने, ‘भोलि प्रधानमन्त्री त्यस्तै कडा खालको पर्नुभयो भने सेना परिचालन गर्नेबारे के हुन्छ ? अहिलेका प्रधानमन्त्रीले पनि अधिकार एकीकृत गरिरहनुभएको छ । राजश्वदेखि लिएर राष्ट्रिय अनुसन्धानलाई आफू मातहात ल्याउनुभएको छ, अब अन्तिम हतियार भनेको सेना हो ।’

आफूहरुले उक्त विधेयकलाई धेरै कुरा विचार गरेर रोकेको दाबी गरे । उनले भने, ‘विषम परिस्थितिमा सेना परिचालन गर्ने भन्ने अनि सुरक्षा परिषदको बैठक बस्ने नसकेको अवस्थामा प्रधानमन्त्रीले सेना परिचालनको लागि मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भनिएको छ, यो गलत कुरा हो ।’

उनले सेना परिचालनजस्तो महत्वपूर्ण विषयमा सरकारले प्रमूख प्रतिपक्षी दलसँग सल्लाह नै नगरेको जिकिर गरे । उनले भने, ‘यस्तो विषयमा हामीसँग सरसल्लाह गर्नुपर्दथ्यो ।’ उनले थपे, ‘संघीय कानून नै बनेको छैन, अहिले प्रधानमन्त्रीलाई अप्रत्यक्ष रुपमा अधिकार दिन खोजिएको छ । हामीलाई यो कुरा मान्य छैन। विधेयक संशोधन गर्नुपर्छ ।’

त्यस्तै नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी डा. प्रेमसिंह बस्न्यातले सेनाको नाममा राजनीति कसैले पनि गर्न नहुने धारणा राखेका छन् । उनले भने, ‘अहिले ल्याईएको सेना परिचालनसम्बन्धी विधेयकमा शंका गर्ने थुप्रै ठाउँहरु देखेको छु । अहिले पनि म सेनाको पेन्सन खाइरहेको छु । बन्दुक, गोली, बारुद र युद्धकला भनेको यो राजनीति होइन । बस्न्यातले ईश्वर पोखरेल रक्षामन्त्री भएर आएको दिनदेखि नै सेनाको छबि गिर्दै गएको आरोप लगाए । उनले भने, ‘रक्षामन्त्री भनेको त सेनाको पिता हो । तर, उहाँ रक्षामन्त्री भएपछि सेनाको छबि गिर्दै गएको छ । किनभने नेपाली सेनाले विमस्टेकमा भाग लिएन भनेर दुनियाँ गाली गरियो, प्रधानमन्त्रीले गाली खाए, सेनाले गाली खायो, यी रक्षामन्त्रीले स्विकृति दिन चुईंक्क बोलेनन् । किन ?’ म प्रश्न गर्न चाहन्छु ।

बस्न्यातले प्रधानमन्त्रीले एकल निर्णयमा सेना परिचालन गर्नसक्ने गरी विधेयक लैजानु रक्षामन्त्रीको गम्भिर गल्ती भएको टिप्पणी गरे । उनले भने, ‘म आर्मीको प्रवक्ता होइन, तर मैले यस्ता सुरक्षा परिषद धेरै देशको अध्ययन गरेको छु । मेरा प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार भन्नेहरु यीनका ८÷१० वर्षका रेकर्डहरु हेर्नुहोस् । यीनले खाएका डिएफआईडिका पैसाहरु, हामीले हिजो युद्ध लड्दा यो सेनालाई ठोक्नुपर्छ यो गर्नुपर्छ भनेर यत्रा यत्रा किताब लेख्नेहरु अहिले प्रधानमन्त्रीको त्यो ठाउँमा कुदिरहेका छन् ।’

उनले आफूहरुलाई राजनीतिक कुरा र चिल्ला कुरा नआउने भन्दै मनमा अहिले पनि बन्दुक रहेको सुनाए । उनले भने, ‘हामी अहिले पनि बन्दुके हौं, यो मनमा बन्दुक छ । हामी दाहिने बाहिने कुरा जान्दैनौं । सेनाले एस अर नो सिकाउँछ ।’

बस्न्यातले थप प्रश्न गरे, ‘नेपालको सुरक्षा अवस्था ठिक छ कि छैन भनेर तीन वटा सुरक्षा निकायका प्रमुखले गर्ने हो कि राजनीतिक दलहरुले गर्ने हो ? नेपाली सेना भनेको तपाईंको खल्तीको भुटेको मकै हो र ? यो तवरले विधेयक ल्याउनु भनेको भोलि सेनालाई प्रहरीलाई गिजोलेजस्तो ढाल्ने योजना हो । भोलि यो ओली सरकार वा कम्युनिष्ट सरकारविरुद्धमा जनता आए भने पनि सेना परिचालन हुनसक्छ ।’

त्यस्तै नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी धर्म बहादुर बानियाँले सेना परिचालनसम्बन्धी विधेयक असान्दर्भिक भएकोले फिर्ता लिनुपर्ने बताएका छन् । उनले भने, ‘यो विधेयक असान्दर्भिक छ, त्यसैले यसलाई फिर्ता लिनुपर्छ ।’

सुरक्षा परिषदको बैठकमा मन्त्रीहरु सहभागी नहुने तर ती मन्त्रीहरु मन्त्रिपरिषदको बैठकमा सहभागी हुने भन्ने कुरा पनि हुन्छ त ? भन्दै प्रश्न गरे । उनले थपे, ‘सेना परिचालनसम्बन्धी सल्लाह दिने सर्वश्रेष्ठ व्यक्ति को हो त भन्दा प्रधानसेनापति हो, प्रधानसेनापतिलाई सुरक्षा अवस्था, कमिकमजोरी र सेनाको क्षमता के छ ? भन्ने कुरा राम्रोसँग थाहा हुन्छ, उहाँले दैनिक रुपमा देशको सुरक्षा अवस्था कस्तो छ भनेर मुल्यांकन गरिराख्नुभएको हुन्छ । तर, सेना परिचालनसम्बन्धी अहिले बनेको विधेयकमा उहाँ सदस्य हुनुहुन्न । उहाँलाई सदस्यमा राखिएको छैन । भनेपछि यो कस्तो किसिमको विधेयक हो त ?’

नेपाली सेना राष्ट्रको सेना भएको बताउँदै बानियाँले भने, ‘नेपाली सेना राष्ट्रको सेना, यो हरेक नेपालीहरुको सेना हो, यो कुनै एक व्यक्तिको सेना होइन । पूर्व मेचिदेखि महाकालीसम्म र हिमालदेखि पहाड र पहाडदेखि तराईसम्म सबैको सेना हो । राष्ट्रको महत्वपूर्ण शक्ति संयन्त्र भनेको नै सेना हो । त्यसकारण सेनासँग खेलाँची गर्न मिल्दैन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्