काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गरेका छन् । प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा ओलीले वर्तमान सरकारसँग केही चुनौतीहरु रहे पनि त्यस्लाई सामना गर्दै जिम्मेवारीहरु पूरा गर्ने बताएका छन् ।
उनले देशमा संविधानसभाबाट निर्मित संविधान रहेको र त्यसकै जगमा टेकेर सफलतापूर्वक तीनै तहको निर्वाचन गराइसकेको बताउँदै अब तिनीहरुलाई संस्थागत गर्ने जिम्मेवारी सरकारसँग रहेको बताए । उनले भने, ‘यो सरकार सम्पूर्ण रुपले सफल भएको छ । अब हामीले विगतको जस्तो देशलाई प्रतिगमनतर्फ फर्किन दिनुहुँदैन ।’
उनले गत वर्ष फागुन २१ गते पहिलो संसदको पहिलो अधिवेशन शुरु भएको जानकारी गराउँदै अहिलेको अधिवेशनसम्म आइपुग्दा देशमा संघीयताको नयाँ अनुभवसहितको संघीय संरचना निर्माण भएको दाबी गरे । उनले भने, ‘पहिलो वर्ष वास्तवमा आधार वर्षको रुपमा रह्यो । अहिलेको मात्र नभएर संविधानको भावी कार्यान्वयनका निम्ति बाटो बनाउने काममा सरकार लागि परेको छ । हामीले नीति तथा कानून निर्माण गरेर त्यस्लाई सिस्टममा लैजाने जिममेवारी पूरा गरेका छौं ।’
ओलीले यो अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा चिन्नुपर्ने बताए । उनले भने, ‘यो बीचमा १२६ वटा ऐनहरु निर्माण गर्यौं। यो आजसम्मकै ऐतिहासिक रेकर्ड हो ।’
ओलीले यो बीचमा १३ वटा ऐनहरुको संशोधन गरिएको, ४७ वटा नियमावली खारेज गरिएको, २६ विधेयक संसदमा विचाराधिन अवस्थामा रहेको, नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकले १०४ ऐनको संशोधन र ५ ऐनको खारेज गरेकोसमेत बताए। उनले कानून निर्माणका हिसाबले सरकारको यो वर्ष गतिशील रहेको बताए ।
प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले समाजका अपराधिक क्रियाकलाप र भ्रष्टाचार हटाउनको लागि सरकार प्रयत्नशिल रहेको बताउँदै समाजमा भ्रष्टाचार हुने भएकै कारणले आफूले ‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने मूलमन्त्रकासाथ अगाडि बढेको बताए ।
सम्बोधनको फरक प्रसंगमा उनले भने, ‘नेपालको छिमेक सम्बन्ध र अन्तराष्ट्रिय सम्बन्ध के हो भन्ने कुरा हामीले निर्माण गरेका नीतिले पनि देखाएकाे छ । कृषिमा हामीले आधुनिकीकरणका प्रयास गरेका छौं । त्यसैले यस वर्ष धानमा ९ प्रतिशत र ६ प्रतिशत मकैको उत्पादनमा वृद्धि भयो ।
उनले सिके राउतसँग सरकारले गरेको सहमतिको प्रसंग निकाल्दै भने, ‘देशमा रहेको पृथकतावादी विचार र त्यसको संगठनलाई हामीले राष्ट्रिय राजनीतिको मूलधारमा ल्याएका छौं ।’ उनले सिके राउतसँगको सहमतिले विखण्डनवादको अत्य भएको बताउँदै देशको सार्वभौमसत्ता र स्वाधीनताको रक्षार्थ स्वतन्त्र मधेश गठबन्धनसँग सहमति भएको बताए । उनले भने, ‘देश टुक्राउँछु भन्नेलाई हामीले सयौं थुङ्गा फूलका हामी भन्ने राष्ट्रगान गाउने बनाएका छौं । यस्तोबेला खुसी हुनु त कता हो कता केही आफूलाई लोकतान्त्रीक हौं भन्नेहरुले नै यसको विरोध गरेको देख्दा मलाई अचम्म लाग्छ ।’ उनले सहमतिपत्रमा जनमत संग्रह भन्ने शब्द नराखिएको बताउँदै राष्ट्रघात र विखण्डन नै समाप्त भएको बेला खुसी हुनुपर्नेमा जोड दिए ।
उनले विप्लव समूहलाई सरकारले धेरैपल्ट मूल धारको राजनीतिमा आउन आग्रह गरेको बताउँदै विप्लव समूहले लोकतान्त्रिक अभ्यास निर्वाचनका क्रममा बम पट्काउने र चन्दाको नाममा लुटपाट गर्ने जस्ता गतिविधि गरेको सम्झाउँदै सो समूहले अपराधिक गतिविधि बढाएको बताए । उनले भने, ‘विप्लव समूह कतै दर्ता नभएको ठेगानाविहीन समूह हो । उक्त समूहको विध्वंशकारी नीतिमाथि सरकारले निषेध गरेको हो। उसको भाषामा यो सत्ता लोकतान्त्रिक भएन रे । बम पड्काउनु, लुट्न पाउनु, उसँग कुनै सरोकार नै नभएको जन्तीको बसमा आगो लगाउनु चाहिँ हो त लोकतन्त्र ? चन्दाका नाममा पैसा उठाउने, लुट्ने हुन्छ लोकतन्त्रमा ? हामीले त्यस्तो हुँदैन भनेर धेरै सम्झायौं । नमानेपछि उस्का त्यस्ता गतिविधिमाथि प्रतिबन्ध गरेका हौं ।



लाेकपाटी न्यूज

