काठमाडौं, १० चैत । सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गर्ने मास प्रिन्टर डेढ महिना भित्र आउने भएको छ । एसियाली विकास बैंकको सहयोगमा ल्याउन लागिएको एउटा मास प्रिन्टर र १० लाख कार्ड ठेक्काको लागि परेका आवेदनको मूल्याङ्कन भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागले टेन्डरको मूल्याङ्कन अन्तिम चरणमा रहेको र बढीमा डेढ महिना भित्र सप्लाई हुने गरी सम्झौता गर्ने बताएको छ । उक्त मास प्रिन्टरले एक घण्टामा ५ सय र दैनिक करिब १० हजारको हाराहारीमा लाइसेन्स प्रिन्ट गर्न सक्ने विभागले जनाएको छ ।
यो प्रिन्टर अटोमेटिक भएका कारण आवश्यकता अनुसार २४ सै घण्टा चलाउन सकिनेछ । अहिले लाइसेन्सको प्रक्रिया पूरा गरेका करिब ४ लाख ५० हजार चालक रसिदकै भरमा सवारी चलाउन बाध्य छन् ।
मास प्रिन्टर आएपछि ३ देखि ४ महिनाभित्र ‘ब्याक लक’ हट्ने विभागको दाबी छ । ‘ब्याकलक हटेपछि प्रक्रिया पूरा गरेको हप्ता दिनमा लाइसेन्स दिन सकिने गरी हामी काम गर्छौं यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले भने ।
हाल विभागमा सातवटा मेसिनबाट दैनिक ३ हजार लाइसेन्स छपाई हुने गरेको बताइएको छ । हालसम्म करिब ८ लाख ५५ हजारले स्मार्ट कार्ड पाइसकेको विभागले जनाएको छ ।
त्यस्तै लाइसेन्स छाप्ने अधिकार प्रदेशमा गइसकेकाले अर्को आर्थिक वर्ष देखि प्रदेशबाट पनि छपाई गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।



लाेकपाटी न्यूज

