हेमन्तप्रकाश ओलीसँग के-के भेटिए दस्तावेज ?

Hemanta Prakash Oli
लाेकपाटी न्यूज

काठमाडौं, १० चैत । नेत्रविक्रम चन्द विप्लव कमान्डर हेमन्तप्रकाश ओलीको पक्राउलाई प्रहरीले ठूलो उपलब्धिका रूपमा लिएको छ। मध्यक्षेत्रीय कमान्डर ओलीलाई पक्राउ गर्दा गोप्य दस्ताबेज हात पारेका प्रहरीको दाबी छ।

दस्ताबेज सो समूहविरुद्धको कारबाहीमा एउटा ठूलो सफलताको रूपमा प्रस्तुत गरेको छ। कारबाहीमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘हामीले हात पारेको दस्तावेजमा निकै महत्त्वपूर्ण सूचना र रणनीतिबारे चर्चा गरिएको छ। त्यसमाथि भूमिगत भइसकेको अवस्थामा क्षेत्रीय कमान्डर नै पक्राउ पर्नु आफैँमा ठूलो उपलब्धि हो ।

प्रहरीले सो समूहका नेता तथा कार्यकर्ताले प्रयोग गरेका ल्यापटप, मोबाइल फोन र अन्य सामग्री पनि जफत गरेको छ। चन्द समूहका नेताहरूबाट यसबारे कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन। ओली सो समूहका तेस्रो वरीयताका नेता हुन्। उनलाई चन्दका विश्वासपात्र पनि मानिन्छ।

प्रहरीको विशेष ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले ओली र अन्य नेतालाई काभ्रेको खनीखोला गाउँपालिकाबाट पक्राउ गरेको हो। गत हप्ता काभ्रेकै रोशी गाउँपालिकामा चन्द समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको थियो ।

घटनालगत्तै पक्राउ परेका चार कार्यकर्ताले दिएको बयान र अन्य सूचनाका आधारमा ओली लगायतका कार्यकर्ताहरूको खोजी कार्य भएको थियो। सरकारले चन्द समूहलाई आपराधिक सङ्गठन ठहर गर्दै उक्त पार्टीका क्रियाकलापमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले उक्त पार्टीका नेता एवम् कार्यकर्तामाथि कडा निगरानी थालेको थियो।

हालसम्म उक्त समूहका करिब २० जना पक्राउ परिसकेका र आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोप लागेका चन्द पक्राउ नपर्दासम्म आफूहरूको सक्रियता नघट्ने प्रहरी अधिकारीहरू बताउँछन्। नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार प्रहरीले ओली र पक्राउ परेका अन्य कार्यकर्ताको हकमा उनीहरूले गरेको अपराधका आधारमा मुद्दा चलाउने तयारी थालेको छ ।

उनी भन्छन्, ‘पक्राउ पर्नेमध्ये केही ललितपुरमा भएको बम विस्फोटमा मुछिएका छन् भने कोही हातहतियार र विस्फोटक पदार्थ सहित पक्राउ परेका छन्। केहीलाई जबर्जस्ती चन्दा मागेको उजुरीका आधारमा पक्राउ गरिएको छ जस कारण उनीहरूलाई फरकफरक मुद्दा दायर गरिनेछ ।

सरकारले नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले विप्लव उपनामबाट परिचित चन्दको समेत खोजी कार्यलाई तीव्र बनाएको छ । चन्द समूहका कार्यकर्ता खोज्न केही दिनअघि नेपाली सेना पनि सम्मिलितिन सुरक्षाटोली कालीकोट गएको विवरण सार्वजनिक भएको थियो ।

तर, भूमिगत नेता चन्द पछिल्ला दिनमा नेपालमा नै नरहेको प्रहरीको अनुमान छ। उनी भारतमा रहेको एक प्रहरी स्रोतको दाबी छ। प्रहरी प्रवक्ता सुवेदीले पनि भने आफूहरूसँग भएको सूचनाका आधारमा खोजि भइरहेको जानकारी दिए।

यस्तै सरकारले निगरानी बढाएकाले चन्द समूहका शीर्ष नेता एवम् कार्यकर्ताहरू सम्पर्कविहीन भएका छन्। एक प्रहरी अधिकारीका अनुसार उक्त समूहका सदस्यहरूले हालका दिनमा मोबाइल फोनको प्रयोग बन्द गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्