‘बममाथि सुतेर वार्ताको कल्पना गरिन्न’ : गोकुल बाँस्कोटा

gokul baskota
लाेकपाटी न्यूज

काठमाडौं, १० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिई गरिने पत्रकारिता प्रेस स्वतन्त्रताको मर्यादाभित्र नरहने बताएका छन्।

नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल प्रेस काउन्सिलको सहकार्यमा आयोजित पत्रकारिता प्रशिक्षणको ३५औँ समूहको उद्घाटन समारोहमा उनले अन्यायविरुद्ध बोल्नु पत्रकारीताको धर्म भएको बताएका छन् । तर, हिंसा गर्न पाउनुपर्छ वा हिंसा गरेको ठीक छ भनेर लेखिनु स्वतन्त्रतामा नपर्ने उनको भनाइ छ । उनले भने, ‘रेडियोमा बसेर बन्द र हिंसा गर्न पाइन्छ भन्ने अनि पत्रकार पक्राउ परेमा नेपाल पत्रकार महासङ्घले विरोध गर्ने ? यो कस्तो संस्कार हो ?’

नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई लक्ष्य गर्दै उनले बम र बन्दूक त्यागेर आएमा सरकार वार्ता गर्न तयार रहेको बताए । उनले भने, ‘बममाथि सुतेर वार्ताको कल्पना गरिन्न । बम निस्तेज गरेर आउनुस्, बकाइदा वार्ता हुन्छ ।’

मन्त्री बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन खोज्दा बन्द गर्न खोज्यो भनिएको गुनासो गर्दै एक पटक दर्ता गरेपछि निरन्तर नभए पनि त्यो पत्रिका रहिरहने स्थितिमा समीक्षा गर्न आग्रह गरे ।

सञ्चारमाध्यम अहिले कम्पनी रहेको र भोलि उद्योगमा जाने भएकाले उद्योगकै मान्यताबाट अघि बढ्नुपर्ने बताउँदै उनले भने, ‘उद्योगमा गएपछि मजदूरलाई ज्याला नदिए कारवाही हुन्छ । छुट लिन उद्योग चाहिने र नचाहिएको काम गर्न प्रेस स्वतन्त्रताको छाता ओढ्न पाइने कि नपाइने ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्