‘प्लाष्टिककाे झाेला उत्पादन राेक्छौं’ : वनमन्त्री बस्नेत

Shakti Bahadur Basnet
लाेकपाटी न्यूज

काठमाडौं, १० चैत । सरकारले प्लाष्टिकका झोलाको प्रयोगलाई न्यून गर्न त्यसको स्रोतमाथिको व्यवस्थापनमा कडाइ गर्ने तयारी गरेको छ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा प्लाष्टिकका झोलामा लगाइएको प्रतिबन्ध कार्यान्वयन सम्बन्धमा सदस्यहरुले दर्ता गराएको ध्यानाकर्षण प्रस्तावमाथि बोल्दै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले प्लाष्टिकको स्रोतमाथिकै व्यवस्थापनमा सरकार लागेको स्पष्ट पारेका हुन् ।

उनले उत्पादन हुने क्रम नरोकिनु र प्रयोगमा मात्रै रोक लगाउने काम भएकाले त्यसको प्रभाकारिता न्यून देखिएको स्वीकार गरे । उनले प्लाष्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका २०६८ लाई संसोधन गरी कम तौलका प्लाष्टिकका झोला उत्पादनमा नै रोक लगाउने तयारी सरकारले गरिरहेको स्पष्ट पारे ।

उनले सके सम्म न्यून प्रयोगको वातावरण सिर्जना गर्ने तथा प्रशोधनका लागि आवश्यक वातावरण सिर्जना गर्ने र पुनःप्रयोग नहुने प्लाष्टिकको प्रयोग नै नगर्ने वातावरण सिर्जना गर्ने विषयलाई सरकारले केन्द्रमा राखेर काम गरिरहेको बताए । उनले कम तौलका प्लाष्टिकका झोला प्रयोगमा लगाइएको प्रतिबन्धको कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम भइरहेको र अहिलेसम्म १९ स्थानमा कारवाही भएको पनि स्पष्ट पारे ।

ध्यानाकर्षण प्रस्तावक डा. बिमला राई पौडेलले काठमाडांै उपत्यकामा मात्रै १० लाख भन्दा बढी प्लाष्टिकका झोला एक पटक मात्रै प्रयोग गरेर फालिने गरेको र यसले जम्मा फोहरको ११ प्रतिशत ओट्ने गरेको तथ्यांकले देखाएको भन्दै उपयुक्त व्यवस्थापन तर्फ पनि मन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्