महिलाको अभावपछि म्यानमारबाट दुलही तस्करी गरिँदै

women
लाेकपाटी न्यूज

एजेन्सी । चीन र म्यानमार दुवै तर्फका अधिकारीहरु महिला तस्करीलाई रोक्न असफल भइरहेको मानव अधिकार निरीक्षण, एचआरडब्लुले सार्वजनिक गरेको रिर्पोटमा उल्लेख छ ।

हामीलाई बच्चा देउ अनि हामी तिमीलाई जान दिनेछौं ’ भन्ने शीर्षकसहितको रिपोर्टमा म्यानमारबाट दुलहीहरुलाई तस्करी गरिँदै चीन लैजानेबारे विस्तृत रुपमा जानकारी पेश गरिएको छ । तस्करीबाट भाग्न सफल ३७ पीडित र यसको शिकार बनेका थुप्रै परिवारले यस घटनाबारे दिएको अन्तर्वार्तापछि प्रमाणहरु संकलन गरि सो रिपोर्ट तयार पारिएको हो ।

विशेषगरी म्यानमारको उत्तरी सान र काचिन प्रदेशबाट महिलाहरुलाई दुलहीका रुपमा तीन हजार डलरदेखि १३ हजार डलरसम्म बिक्री गर्ने गरिएको पाइएको छ । राम्रो जागिर लगाइदिने प्रलोभन देखाउँदै विपन्न परिवारका युवतीहरुलाई निशाना बनाइने गरिएको बताइएको छ ।

पीडितहरुका अनुसार चीन पुर्याइएपछि उनीहरुलाई कैद गरेर राख्ने गरिन्छ जहाँ बच्चा जन्माउन बाध्य पार्ने गरिएको र अधिकांश बलात्कारको शिकार हुने गरेको बताइएको छ । रिपोर्टका अनुसार १९७९ देखि लागू गरिएको चीनको एक सन्तान नीतिको परिणाम स्वरुप यस किसिमको अपराध वृद्धि हुँदै गएको हो । चिनियाँ सरकारको यस नीतिले देशभरको जनसङ्यामा लैङ्गिक असन्तुलन गराएको हुनाले नै चीनमा दुलहीको चरम अभाव सुरु भएको र तस्करीको उपाय अपनाउन थालिएको रिपोर्टले जनाएको छ ।

एउटा मात्र सन्तान जन्माउन पाउने भएपछि अभिभावकहरुले छोरालाई बढी प्राथमिकता दिने गर्दा स्त्री भु्रणहत्याले व्यापक रुप लिन सुरु गरेको हो जसबीच महिला जनसङ्या तीन देखि चार करोड सम्म कम भएको बताइन्छ । यसरी अहिले म्यानमार मात्र नभएर उत्तर कोरिया लगायत चीनका अरु छिमेकी देशहरु पनि यस्ता अपराधप्रति संवेदनशील मानिएको डेलीमेलले जनाएको छ ।