पूर्वराजाको गतिविधि ठिक नभएको सरकारको ठहर

king
लाेकपाटी न्यूज

काठमाडौं, १० चैत । पूर्वराजाको पछिल्लो समयको देश दौडाहा राजनीतिक भएको भन्दै त्यस्तो गतिविधि ठिक नभएको सरकारको ठहर छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा यसबारेमा छलफल भए पनि कुनै निर्णय भने नगरिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए । मन्त्री पण्डितले भने, ‘गणतन्त्रमा राजतन्त्रका गतिविधि हुनुहुन्न भन्ने बारेमा हामीले छलफल गरेका छौं । पूर्वराजाको गतिविधि ठिक नभएको भन्ने हाम्रो निष्कर्ष हो । हामीले कुनै निर्णय नै भने गरेका होइनौं । छलफल चाहिँ भएको हो ।’

उनले नेपालका लागि भारतका राजदूत मन्जिभसिँह पुरीको भूमिका पनि कुटनीतिक मर्यादा अनुरुप नभएको बारेमा सरकारले छलफल गरेको बताए । तराईको जिल्ला भ्रमणका क्रममा पूर्वराजा जनकपुरको सीता शरण होटलमा बसेको बेलामा भारतीय दूतावासका अधिकारीहरुसँग भेट गरेको भन्ने विषयलाई लिएर पूर्वराजा विवादमा आएका हुन् । तर भारतीय दूतावास स्रोतका अनुसार त्यसबेला राजदूत पुरीले पूर्वराजालाई भने भेट गरेका थिएनन् ।

तराईका जिल्लाको भ्रमणका क्रममा सप्तरीबाट पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार राति करिब १० बजे झापा पुगेका थिए । अहिले पनि उनी झापामै छन् । यो भ्रमण राजसंस्था ब्युँताउने तयारीका लागि हो ? भन्ने पत्रकारको प्रश्नमा ‘यो कुरा जनतासँग नै सोध्नुस् ’ उनको जवाफ थियो । पूर्वराजा ज्ञानेन्द्र २०७५ सालभर नै निकै व्यस्त रहेको उनको भ्रमण तालिकाबाट प्रष्ट हुन्छ ।

उनले भ्रमणका क्रममा देशबासीसँग कुनै न कुनै हिसाबले सम्पर्क बढाएका छन् । उनी गत वैशाख ३० गतेदेखि जेठ १३ गतेसम्म सिमरा भ्रमणमा गएका थिए । त्यसपछि असार २० देखि ३० गतेसम्म नेपालगञ्ज, साउन १६ देखि भदौ १ गते सम्म थाइल्याण्ड, पुस २ देखि पुस १८ सम्म पोखरा, माघ २३ देखि फागुन २२ गतेसम्म फेरि सिमरा र फागुन २६ गतेदेखि हालसम्म झापा मुकाम बनाएर तराईको भ्रमणमा छन् । उनी एक पटक विदेश भ्रमणमा जाँदा बाहेक अरु समय स्वदेशकै कार्यक्रममा व्यस्त रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्